• १७ मङ्सिर २०८२, बुधबार

जेनजी आन्दोलनका सहिदः सन्तान गुमाउँदाको असह्य पीडा

blog

राधिका बुढाथोकी

कमलामाई (सिन्धुली), मङ्सिर १७ गते । “मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं-तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन कसरी बुझाउँ ?” गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद योगेन्द्र न्यौपाने (रोसन) को आमा लक्ष्मीले आँसुका धारा बगाउँदै बोलिरहने बेदनाका शब्द हुन् यी ।

जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताउनु भएको थियो । घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरो गुमेपछि लक्ष्मीको अनुहारमा छाएको पीडा शब्दले बयान गर्न सकिन्न । दिउँसै बत्ती बाल्दा पनि उज्यालो नछाउने घरको एक कोठामा सहिद योगेन्द्रका तस्बिर राखिएका छन् । त्यही कोठामा लक्ष्मीको धेरै समय बित्छ । 

साँझ-बिहान श्रद्धाञ्जलि लेखिएका तस्बिरमा धुप-दीप गर्नु हुन्छ र छोराको स्वर्गमा बास होस् भन्ने कामना गर्नु हुन्छ । “जेनजी आन्दोलनमा अरु धेरैका सन्तानले ज्यान गुमाए । तर, यस्तो बेला आफूलाई मात्रै पीडा परेको जस्तो लाग्दो रहेछ,” लक्ष्मीले २३ वर्षीय सहिद योगेन्द्रको तस्बिर सुमसुमाएर देखाउँदै भन्नुभयो, “यस्तो छोरो गुमाएर बाच्नु परेको छ ।” 

लक्ष्मी सुत्ने कोठाभरि सहिद योगेन्द्रका बाल्यकालदेखि युवासम्मका सम्झना छन् । आमा लक्ष्मीको आँखाभरि गुमाएको छोरोका याद छन् । त्यी यादले उहाँलाई रातमा निद्रा दिदैन, दिनमा चयन मिल्दैन । छोरोको झल्कोले बेला–बेलामा ऐठन भइराख्छ । “अब रुन्न भन्छु, उसलाई सम्झिन्छु । आँसु खस्छ, रोक्नै सक्दिन । कोही साथमा हुँदा बोल्यो । एक्लै हुँदा त सम्झयो, रोयो । के गरी मन बुझाउँनु र !,” उहाँले पीडा पोख्नुभयो । 

सानै उमेरमा माइतीका आमाबुबा गुमाएकी लक्ष्मीका दाजुभाई पनि छैनन् । आफूले जन्माएका तीन सन्तान थिए । जेठो छोरो योगेन्द्रले अकालमै ज्यान गुमाउनु पर्यो । अहिले उहाँका दुई सन्तान छन् । त्यसमध्ये छोरीको विवाह भइसकेको छ । कान्छो छोरो सहिद योगेन्द्रको काजकिरीया सकिएपछि काठमाडौँ फर्किएका छन् । 

यति बेला सहिद योगेन्द्रको सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ च्याकुटारस्थित घरमा आमा लक्ष्मी र बुबा युवराज न्यौपाने (उमेश) मात्रै हुनुहुन्छ । लक्ष्मी दम्पतिले केही समयअघि गाउँमा भएको जमिन बेचेर काठमाडौँमा घर किनेका थिए । सहिद योगेन्द्र सोही घरमा बसेर त्रिचन्द्र क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो । उहाँको सपना थियो, सरकारी सेवामा अधिकृत बन्ने । उहाँले आफ्नो सपना पूरा गर्न गत असारमा अधिकृत बन्ने लोकसेवा आयोगको परीक्षा दिनु भएको थियो । 

काठमाडौँ आफ्नै घरमा बसेका योगेन्द्र गाउँको घरमा नआएको पनि छ महिना भएको थियो । भिडिओ कलमा आफ्नो परीक्षा राम्रो भएको भन्दै परिवारमा थप आशा र भरोसा जगाउनु भएको थियो । “१२ कक्षा पास गरेको कान्छो छोरो विदेश जाने सोचमा थिए भने योगेन्द्र भने विदेश नजाने अडानमा हुनुहुन्थ्यो । उहाँको एक मात्रै सपना सरकारी अधिकृत बन्ने थियो,” आमा लक्ष्मीले भक्कानिदै सुनाउनुभयो ।

चाडपर्व नजिकिदै थिए । दशैँ मनाउन गाउँको घर फर्कने योगेन्द्रको योजना थियो । यता, बुबा-आमालाई छोरो भेट्ने उत्सुत्कता उत्तिकै थियो । तर, नियतिले परिस्थिति भयानक बनाइदियो । दशैँ, तिहार चाडबाड त आए तर योगेन्द्र आउनुभएन । योगेन्द्रको अभावमा रहेको परिवार अब आफ्नो घरमा चाडपर्वको उल्लास कहिल्यै नआउने दुःखेसो गर्छन् । 

योगेन्द्र बितेको वियोगमा आफन्तको समेत अझैसम्म आशुँ ओभाएका छैनन् । “सरल स्वभावको मिहेनती थियो । अस्वस्थकर खानेकुरा आफू पनि खादैँनथे, अरुलाई पनि नखान सुझाल्उथे । पढाई अब्बल थियो । त्यस्तो घटना भयो । मन अझैसम्म पिरोलिन्छ,” उहाँका आफन्त छत्रमाया न्यौपानेले भन्नुभयो । योगेन्द्रको स्वभाव भद्र भएको बताउनुभयो । राजनीतिमा खासै चासो नराख्ने, आफ्नो काम र पढाईमा मात्रै ‘फोकस’ हुने भतिजा त्यो दिन कसरी आन्दोलनमा पुग्यो भनेर आश्चर्यमा परेको उहाँ बताउनुहुन्छ ।

सहिद योगेन्द्रका बुबा युवराज न्यौपाने (उमेश) पेशाले स्थायी शिक्षक हुनुहुन्छ । आमा लक्ष्मीले घरधन्दासँगै पसल चलाउनु भएको छ । राससकर्मी जेनजी आन्दोलनका सहिद योगेन्द्रका पिता भेट्न गोलञ्जोर गाउँपालिका-२ कुखुरेटारस्थित सुनकोशी प्राथमिक विद्यालयमा पुग्दा उहाँ कक्षाकोठामा पढाउँदै हुनुहुन्थ्यो ।

केही समयको भेटमा उहाँले भन्नुभयो, “भदौ २३ गतेको जेनजी आन्दोलनको सुरुमै मेरो जेठो छोरो योगेन्द्र सहिद भयो । त्यसमा असाध्यै दुःख छ । उनीहरुले जे उद्देश्य लिएर आन्दोलन गरे, देशको निम्ति रगत बगाए । त्यो रगतको मूल्य राज्यले बुझ्नुपर्छ ।” उहाँको बुझाइमा जेनजीको आन्दोलन राष्ट्रका लागि नै थियो । जेनजीले देश ‘ट्रयाक्क’ भन्दा बाहिर गयो, ‘ट्रयाक्क’ मा आउनुपर्छ भनेर आन्दोलन गरेका थिए । जेनजीले गरेको आन्दोलन देशमा मौलाउँदै गएको विकृति, विसङ्गती र बेतिथिका विरुद्धमा थियो । 

जेनजी आन्दोलनले देखाएको मार्गलाई राज्यले आत्मसाथ गर्नुपर्ने बुबा युवराजको तर्क छ । उहाँका अनुसार सहिदले बनाएको रगतको मूल्य बुझ्न नसक्ने हो भने आगामी पुस्ताले फेरि त्यही गल्ती दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ । “हाम्रा बाबुले जस्तै अरु नयाँ युवाले रगत बगाउन नपरोस्,” उहाँले भन्नुभयो । राज्यले जेनजी आन्दोलनको सार बुझेर परिर्वतनको आधार तयार नगरेसम्म जेनजी आन्दोलनका सहिदको आत्माले शान्ति प्राप्त नगर्ने उहाँको भनाइ छ । 

जेनजी आन्दोलनका सहिद परिवारलाई सरकारले घोषणा गरेका केही राहत उनीहरुसम्म पुगेका छन् । तर, त्यतिले नपुग्ने सहिद परिवारको भनाइ छ । सङ्घीय सरकारले जेनजी आन्दोलनमा साहदत प्राप्त गर्ने सहिदको शालिक, स्मारक निर्माण गर्नु पर्ने, जेनजी आन्दोलन स्मरण दिवसलाई सार्वजनिक विदा घोषणा गर्नुपर्ने र सहिदका परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने सहिद परिवारको माग छ । 

जेनजी आन्दोलनका क्रममा योगेन्द्रसहित सिन्धुलीका तीन जनाले ज्यान गुमाएका थिए । तीन पाटन गाउँपालिका-६ भलायोडाँडाँका १९ वर्षीय दिपेश सुनुवार भदौ २४ गते बानेश्वरमा भएको आन्दोलनकै क्रममा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सिन्धुलीको दुधौली नगरपालिका-८ घर भएका प्रहरी सहायक निरीक्षक मिलन प्रहरी वृत्त महाराजगञ्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत हुनुहुन्थ्यो । ३० वर्षीय मिलनलाई २४ भदौमा सादा पोशाकमै रहेका बेला प्रदर्शनकारीले डिएसपी भन्दै कुटेर हत्या गरेका थिए । 

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई राज्यले सहिद घोषणा गरेको तीन महिना पुगिसकेको छ । तर, आजका दिनसम्म त्यी सहिदको सम्झानामा जिल्ला तथा पालिका स्तरमा कुनै पनि गतिविधि नभएको सहिद परिवारको गुनासो छ । सहिद परिवारका अनुसार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा एउटा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गरी तीन सहिदका शालिक स्थापना गर्नुपर्छ । स्थानीय तहको भूमिकालाई जोड दिँदै पालिकाले पनि आफ्नो ठाउँमा शालिक निर्माण र जेनजी आन्दोलनको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् । रासस