• १७ मङ्सिर २०८२, बुधबार

गाडी दुर्घटना हुँदा सात जना घाइते

blog

दुर्घटनाग्रस्त अवस्थाको सवारी साधन ।

प्रवीण कुमार शर्मा 

रौतहट, मंसिर १७ गते । रौतहटमा बुधबार भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । माधवनरायण नगरपालिका –३ स्थित गौर चन्द्रनिगाहपुर  सडक खण्डमा चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदैगरेको प्र २–०३–००१ ह १०७४ नम्बरको इ–रिक्सा र विपरित दिशाबाट आउदैगरेको बीआर ०६ जीजी ५४०४ नम्बरको पिकअप गाडी बुधवार दिउँसो एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो । 

पिकअप चालक भारत बिहारको सितामढी जिल्ला डुमरा बडहरवाका राम सेवक साहको छोरा ३१ बर्षिय सन्तोषकुमार साहलाई पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ । दुबै सवारी साधन प्रहरी चौकी सुकदेवचोकको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो। दुर्घटनामा इ–रिक्सा चालक रौतहटको यमुनामाई गाउँपालिका –४ सरुअठाका ३४ बर्षिय जमसेद आलमको दुबै हात, दुबै खुट्टामा र टाउकोमा चोट लागेको  छ । नेपाल तराई अस्पताल सुकदेवचोकमा उहाँहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

इ–रिक्सामा सवार सर्लाही बरहथवा –२ हजरिया टोलका नागेन्द्र बैठाको २७ बर्षिय श्रीमती रिन्कु बैठा, उहाँको ५ बर्षिय छोरी अन्निय बैठा, ३ बर्षिय  छोरा आयुष बैठा, डेढ बर्षिय छोरा रोमन बैठा र रौतहटको माधवनारायण नगरपालिका संखुअवाका दिनेश बैठाको २० बर्षिय छोरा रामविश्वास बैठा घाइते भएको र सवैको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचार भइरहेको प्रवक्ता बस्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा रिन्कु बैठाको ७ बर्षिय छोरी अनुष्का बैठाको दुबै खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेको उहाँले जानकारी दिनुभयो । बैठाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिरगञ्ज पठाइएको उहाँले बताउनुभयो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।