• १७ मङ्सिर २०८२, बुधबार

पशु स्वास्थ्य शिविरमा ३२ सय पशुपंक्षीको उपचार

blog

पशु स्वास्थ्य शिविरमा पशुको उपचार गरिदै । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मंसिर १७ गते । बर्दियाको बारबर्दिया नगरपालिकाको दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुईसय ७६ वटा पशुपंक्षीको उपचार गरिएको छ । 

बारबर्दिया नगरपालिकाको विकट क्षेत्र –३ भैँसाखानी र वडा ११ को बेलभारमा आयोजना गरिएको शिविरमा पाँचसय ६६ जना किसानले पशुपंक्षी ल्याएका थिए । दुई सय ५८ जना किसानले परामर्श सेवा लिएका थिए । 

शिविरमा एक हजार एकसय ३५ वटा बाख्रा, तीनसय ३० वटा गाईभैँसी, एकसय २० ओटा बंगुर, र एक हजार छसय ९१ वटा कुखुरा र हाँसको उपचार गरिएको थियो । वडा ३ भैँसाखानीमा दुईसय ६८ र वडा न ११ बेलभारमा दुईसय ९८ जना किसानले पशुपंक्षी उपचारका लागि ल्याएको पशुसेवा शाखाका प्रमुख दिपकराज थापाले बताउनुभयो । 

उहाँले शिविरमा पशुपंक्षीहरूको स्वास्थ्य जाँच, परजीवि नियन्त्रण, भ्याक्सिन लगायतका सुविधा दिइएको बताउनुभयो । शिविरले उपचार केन्द्रसम्म पुर्याउन नसकेका पशुहरूको उपचारमा सहज भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले बताउनुभयो । उहाँले नगरपालिकाले सँधै किसानहरूकै पक्षमा काम गर्ने बताउनुभयो । 

बारबर्दिया नगरपालिका र शिविर हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाद्वारा शिविर सञ्चालन गरिएको थियो ।