• १७ मङ्सिर २०८२, बुधबार

चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे

blog

नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको घुइँचो । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, मङ्सिर १७ गते । बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् । चिसो बढेसँगै जिल्लामा कडा किसिमको भाइरल फ्लुका बिरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । 

मङ्सिर महिनाको सुरुवातबाटै चिसो बढ्दै गएका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा भाइरल फ्लु देखिएकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो । भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिंगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने फ्लुका बिरामीहरु अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । 

उहाँले अहिलेको फ्लु निकै कडा खालको रहेको जनाउँदै केही दिनमा निको नहुनेलाई अस्पतालमा भर्ना गराउन सुझाव दिइएको बताउनुभयो । चिसोबाट विशेषगरी बालबालिका र बृद्धबृद्धालाई जोगाउन सबैसँग अनुरोध गरिएको पनि डा. रिसालले बताउनुभयो । 

नेपालगन्जका वरिष्ठ फिजिसियन प्रकाश नागले चिसो अत्यधिक बढेपछि कडा किसिमको भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताउनुभयो । उहाँले अहिले दैनिक ३० देखि ४० जनासम्म कडा भाइरल फ्लुका बिरामीहरु क्लिनिकमा पुग्ने गरेको जनाउनुभयो । 

सोही प्रकारले सञ्जीवनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले गत केही समययता आएर अस्पतालमा भाइरलफ्लुका बिरामी आउने क्रम बढेको बताउनुभयो। उहाँले भाइरल फ्लु भएर अस्पताल आउनेहरुमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताउनुभयो । 

यसैगरी नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालले पनि चिसो बढ्दै जाँदा ज्वरो, रुघाखोकी र डायरियाका बिरामी उपचारका लागि धेरै आउन थालेको जनाएको छ।