• १७ मङ्सिर २०८२, बुधबार

मनास्लु पदमार्गको मर्मत कार्य सम्पन्न

blog

सम्पन्न भयो लार्के फेदीदेखि लार्के पाससम्मको पर्यटकीय पदमार्ग मर्मत कार्य । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर १७ गते ।
लोकप्रिय मनास्लु पदयात्रा मार्गअन्तर्गत मनाङतर्फ पर्ने लार्के फेदीदेखि लार्के पाससम्मको पर्यटकीय पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ । कठिन भौगोलिक क्षेत्र र उचाइका कारण वर्षौंदेखि जोखिमपूर्ण मानिँदै आएको उक्त मार्गको सुधारले अब पदयात्रुलाई अधिक सहज र सुरक्षित यात्रा गर्ने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको आर्थिक सहयोगमा सो कार्य सम्पन्न भएको हो । परियोजनाका लागि कुल पाँच लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको र संरक्षण क्षेत्र व्यवस्थापन समिति थोंचेसँगको समन्वयमा मर्मत तथा सुधार कार्य तीव्र रूपमा अघि बढाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

लार्के फेदीदेखि लार्के पाससम्म विस्तार भएको यो क्षेत्र समुद्र सतहदेखि ४८५० मिटरदेखि ५१०६ मिटर उचाइमा अवस्थित छ । अत्यन्तै उच्च हिमाली भूभागमा रहेको करिब ४५० मिटर लम्बाइको पदमार्गमा ढुङ्गा थुपार्ने, भासिएको भाग उचाल्ने तथा हिँडडुल सहज हुने गरी संरक्षणका कामहरू गरिएको एक्यापले जानकारी दिएको छ ।

मनास्लु पदमार्ग देश–विदेशका साहसिक यात्रुहरूका लागि विशेष चासोको विषय बन्दै आएको छ । गोरखाबाट मनाङको भिमताङ र धारापानी हुँदै लमजुङको सदरमुकाम बेँसीसहरसम्म पदयात्रा गर्न यो मार्गलाई सर्वाधिक सुरक्षित र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य मानिन्छ । मनास्लुको मनमोहक हिमशृङ्खला, विशिष्ट संस्कृति तथा जैविक विविधताले पर्यटकलाई आकर्षित गर्ने भएकाले पदमार्गको सुधारले यहाँको पर्यटन व्यवसायलाई थप उकास्ने अपेक्षा गरिएको छ ।

तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूले पदमार्ग सुधार कार्य सम्पन्न भएपछि हर्ष व्यक्त गरेका छन् । उनीहरूले पदयात्रुको सङ्ख्यामा वृद्धि हुने, स्थानीय रोजगारी र आयआर्जन बढ्ने तथा सो क्षेत्रको समग्र विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।