• १७ मङ्सिर २०८२, बुधबार

मुसहर समुदायलाई मृत्यु भोज गर्न ऋण लिनुपर्ने बाध्यताको अन्त्य

blog

लहान नगरपालिका नगरप्रमुख महेशप्रसाद चौधरी, वडाध्यक्ष श्याम अधिकारीलगायत श्यामदेव सदायलाई खाद्यान्न राहत दिनुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, मङ्सिर १७ गते ।
लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा, नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्यु भोजको लागि साहु महाजनसँग ऋिण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मुसहर समुदायको मृत्यु भएको खबर पाउना साथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण लिनु नपरोस् भनेर त्यसका लागि एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नून, पाँच लिटर तेल राहत लहान नगरपालिकाले दिन थालेपछि ठुलो राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाउनुभयो ।

मुसहर समुदायको मृत्यु भएपछि लास जलाउन दउरादेखि स्वजातीय भोज गर्नको लागि साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि ठुलो राहत पाएको लहान–१३ का बौका सदायले बताउनुभयो । स्थानीय सरकार दलित विपन्नका लागि अभिभाकत्वको भूमिकामा लहान नगरपालिकाले गरिरहेका कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले बताउनुभयो ।

मुसहर समुदायसहित अन्य दलित विपन्न परिवारमा मृत्यु भएपछि साहु महाजनसँग ऋण लिन नपरोस् भन्ने उद्देश्यले यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट नै विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नहरुलाई स्वास्थ्य बिमा अभियान यहि पुस महिनादेखि सुरु गर्न लागेका छौँ ।’’

लहान नगरपालिकामा २० हजार दलितहरुको जनसङ्ख्या रहेको लहान नगरपालिकामा सबैभन्दा आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायको लागि आवास, शिक्षाका लागि निःशुल्क ट्युसन कक्षा, शैक्षिक सामग्रीको व्यवस्थापनलगायका थप कार्यक्रमहरु ल्याएको नगरप्रमुख चौधरीले प्रष्टयाउनुभयो । नगरप्रमुख चौधरीले  थप्नुभयो, ‘‘मुसहर समुदायबाट सुरु गरिएको यो अभियान दुसाध समुदाय, चमार समुदाय, खत्वे मण्डल समुदाय र तत्मा समुदाय लगायत विपन्न गैरदलित समुदायमा समेत राहत दिइने सुरुवात यस वर्षदेखि थालिसकेका छौँ ।’’