- कालिकाका एघार विद्यार्थीले एमबिबिएसमा निकाले नाम
बुटवल समाचारदाता
बुटवल, मङ्सिर १७ गते । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थीले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कक्षा १२ उत्तीर्ण गरेका ११ जना विद्यार्थीले यो वर्ष एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको जानकारी दिनुभयो । विद्यालयका अनुसार यो वर्ष ४२ जना विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने स्नातकतर्फ विभिन्न सङ्कायमा निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
प्रधानाध्यापक थापाले एमबिबिएसतर्फ ११ जना, बी फार्मातर्फ २३ जना, बिएस्सी नर्सिङतर्फ दुई जना, बिभिएस्सीतर्फ दुई जना, बिटेकतर्फ एक जना र बिबिएसतर्फ एक जना विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएको जानकारी दिनुभयो । प्रधानाध्यापक थापाका अनुसार विद्यालय तहमा शिक्षक, विद्यार्थी र अभिभावकको साझा सहकार्यबाट मात्रै उत्कृष्ट नतिजा प्राप्त गर्न सम्भव भएको हो । कालिका मानव ज्ञान माविमा देशभरकै सबैभन्दा बढी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका छन् । यसै गरी बुटवल उपमहानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिले आफूहरूलाई अध्ययनका लागि थप हौसला मिलेको बताएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी शिक्षण संस्थाबाट प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी र लक्षित वर्गसम्म पु¥याउने उद्देश्यले पैसाको अभावमा बुटवलका कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी बनाएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका शिक्षण संस्थाको शिक्षा राम्रो भएका कारण बाहिरी जिल्लाबाट पनि बुटवल आउने गरेको भन्दै निजी शिक्षण संस्थाबाट प्रदान गर्ने छात्रवृत्ति वितरण पारदर्शी हुँदा पैसाको अभावमा गुणस्तरीय शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने समस्या केही हदसम्म कम भएको बताउनुभयो । उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत यादवचन्द्र विष्टले बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा निजी शिक्षण संस्थाबाट गत वर्ष ३३९ जना विद्यार्थीले छात्रवृत्तिमा उच्चशिक्षा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।