घोराही समाचारदाता
घोराही, मङ्सिर १७ गते । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोला चार लेन पुल निर्माणमा ढिलाइ भएको छ । घोराही–तुलसीपुर चार लेन सडकलाई समेट्ने गरी पुल निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सम्झौता म्याद आधा बढी भइसक्दा समेत आधा पनि भौतिक प्रगति हुन सकेको छैन ।
ठेक्का सम्झौता अनुसार चार लेन पुल निर्माणका लागि साढे छ महिनाको समय बाँकी रहेको छ तर पुलको आधा पनि काम हुन सकेको छैन । पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन थारूका अनुसार सेवारखोला पुलको भौतिक प्रगति ३५ र वित्तीय प्रगति ३० प्रतिशत मात्र रहेको छ ।
इन्जिनियर थारूका अनुसार ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको पुल तीन वर्षभित्र निर्माण सक्ने गरी २०८० जेठ ३० मा रायमाझी कन्स्ट्रक्सन जेभी सामाखुसी काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । २३ करोड २२ लाख ४३ हजार रुपियाँमा ठेक्का सम्झौता भएको पुल २०८३ साल जेठ २८ गतेसम्म निर्माण सक्नुपर्ने भए पनि भौतिक प्रगति बढ्न सकेको छैन ।
पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर थारूले भौतिक प्रगति नभएको र चालु आर्थिक वर्षमा पनि अझै काम सुरु नभएकाले सम्झौता मितिमा काम सक्नेमा शङ्का रहेको बताउनुभयो । इन्जिनियर थारूले भन्नुभयो, “अहिलेसम्मको भौतिक प्रगतिलाई मूल्याङ्कन गर्ने हो भने समयमै पुल निर्माणको काम सक्ने अवस्था देखिँदैन तर निर्माण व्यवसायी इमानदार भइदिए काम हुन सक्छ ।” उहाँले पुल निर्माणका लागि हुनुपर्ने तीन वटा पिल्लरमध्ये दुई वटा पिल्लर निर्माण भइसकेकाले बाँकी छ महिनाको समयमा एउटा पिल्लरसँगै स्पानको काम गर्न सकिने बताउनुभयो ।
रायमाझी कन्स्ट्रक्सन जेभीका प्रतिनिधि प्रकाश राणाले बजेट अभावका कारण सम्झौता अनुसार पुलको भौतिक प्रगति हुन नसके पनि सम्झौता मितिमा पुल निर्माण सक्ने गरी काम भइरहेको बताउनुभयो । उहाँका अनुसार पुलको बाँकी रहेको एउटा पिल्लरसँगै स्पान निर्माणका लागि आवश्यक पर्ने छड, सिमेन्टलगायतका आवश्यक सामग्री आइसकेको र प्राविधिक यन्त्रबिना गर्नुपर्ने काम भइरहेकाले मेसिन आइपुगेपछि काम अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले उपकरण नहुँदा भौतिक रूपमा देखिने काम हुन सकेको छैन तर पुल र स्पान निर्माणका लागि आवश्यक पर्ने अन्य काम भइरहेको छ ।” उहाँका अनुसार एक्साभेटर बिग्रिएकाले बन्दै गरेको र त्यो बनिसकेपछि पुल निर्माणको काम अघि बढ्ने बताउनुभयो । समयमा पुल निर्माणको काम नहुँदा घोराही–तुलसीपुर चल्ने सवारीसाधनले बर्सातको समयमा समस्या भोग्नुपर्ने अवस्था रहेको छ ।