• १७ मङ्सिर २०८२, बुधबार

थातथलो छोड्दै भूकम्पपीडित

blog

भूकम्पले भत्किएको जाजरकोटको–खलङ्गा पुनर्निर्माणको पर्खाइमा । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा/सहदेव बस्नेत

जाजरकोट, मङ्सिर १७ गते । भूकम्प प्रभावित जिल्ला जाजरकोटका विभिन्न पालिकावासीले भूकम्पपछि पुख्र्यौली थातथलो छोड्न थालेका छन् । सरकारले दोहोरो घर भएका भूकम्प प्रभावितका घर पुनर्निर्माण नगर्ने भएपछि उनीहरूले पुख्र्यौली थलो छोड्न थालेका हुन् । 

भूकम्पले भत्किएका जनताका निजी आवास सरकारबाट पुनर्निर्माणको आशा गरी बसेका सर्वसाधारण निराश भएका छन् । सरकारले अस्थायी आवासका लागि दिएको ५० हजार रुपियाँ अनुदानबाट टहरामा बसी पुनर्निर्माण पर्खिएर बसेका सर्वसाधारणले नेपालगन्ज, सुर्खेतलगायत विभिन्न ठाउँमा घर भएकालाई पुनर्निर्माणमा सहयोग नगर्ने भएपछि पुख्र्यौली थलो छोड्न थालेका छन् । भेरी नगरपालिका–३ का तेजविक्रम शाहले सदरमुकाम खलङ्गास्थित पिपलडाँडामा रहेका पाँच वटा घर भूकम्पले भत्किएपछि अस्थायी टहरा निर्माण गरी बसेको दुई वर्षसम्म चिसो, गर्मी र बर्खाको बाढीपहिरोको चपेटामा परेको बताउनुभयो । 

उहाँका अनुसार सरकारले जिल्लाबाहिर आवास भएका व्यक्तिका घर पुनर्निर्माण नगर्ने भएपछि थालथलो छोड्नु परेको छ । भूकम्पले सबै घर भत्किएर थुप्रो लागेपछि सरकारको सहयोगबाट घर बनाउने आशा गरे पनि कार्यविधिमा दोहोरो घर भएका जनतालाई नदिने भनेपछि पुरानो थलो सुनसान बनेको छ । यहाँका अधिकांश घरपरिवार अस्थायी आवासमा बस्नु परेपछि बिचल्लीमा छन् । स्थानीय तहले पुनर्निर्माणलाई प्राथमिकता नदिएपछि गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका व्यक्ति हिउँदको चिसो सिरेटोमा आगो तापेर दिनरात बिताउने गरेका छन् । 

स्थानीय हिटलरसिंह राठौरले भूकम्पले घर भत्किएपछि जाने ठाउँ कतै नहुँदा सरकारले दिएको अनुदान सहयोगमा अस्थायी टहरा बनाएर बसेको दुई वर्षसम्म स्थानीय तहले पुनर्निर्माणका लागि बेवास्ता गरेका कारण समस्या भएको बताउनुभयो । भेरी नगरपालिका–१, रावतगाउँ, नलगाड नगरपालिका–१, पाली, कल्पत, चिउरीगाउँ दलित जनजातिको बाहुल्य रहेका गाउँबस्ती हुन् । ज्यालामजदुरी गरी जीविकोपार्जन गरेका सर्वसाधारण सरकारले घर बनाइदेला र बसाँैला भन्दै पर्खी बसेको दुई वर्ष बिते पनि सरकारले लापर्बाही गरेपछि समस्यामा परेका छन् । नलगाड नगरपालिका–१ का गौतम परियारले गरिब, दलित, आर्थिक अवस्था कमजोर जोखिममा परेका घरपरिवार सुरक्षित आवास नहँुदा चिसोमा टहरामुनिको बसाइ कष्टकर भएको बताउनुभयो । सरकारले समयमा पुनर्निर्माणको कामलाई प्राथमिकता नदिएपछि करिब ४८ घरपरिवार जोखिममा बस्ने गरेका छन् । ढुङ्गा माटोले निर्माण गरेका घर पुनर्निर्माण गर्ने आश्वासन दिए पनि विस्तृत क्षतिको आँलन विवरण (डिडिए) को प्रतिवेदन मर्मतमा नपरेपछि चिन्तित भएका छन् । 

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्थानीय तहको ढिलासुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो । सरकारले पुनर्निर्माणका लागि जिल्ला विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिमा जम्मा भएको रकम अझै निकासा गरेको छैन । स्थानीय तहलाई जतिसक्यो छिटो प्रक्रिया पूरा गरी निकासा गर्न आग्रह गरेको उहाँको भनाइ छ । 

स्थायी आवास नबन्दा हैरानी 

२०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी यहाँका अधिकांश घरपरिवार अस्थायी आवासमा बस्दै आएका छन् । भेरी नगरपालिका–१ का पूर्णबहादुर रावतले भूकम्पका कारण भत्केको घर अहिलेसम्म नबन्दा राति शीतको थोपा चुहिने अस्थायी टहरामा बसेर गुजारा चलाउनु परेको दुःखेसो पोख्नुभयो । भूकम्पमा परी आफ्नो छ जनाको परिवार गुमाउनुभएका उहाँ सरकारको स्थायी आवास निर्माणको प्रतीक्षामा बस्नुभएको छ । भेरी नगरपालिका–३, थाप्लेका कृष्ण शाह आफ्नो भत्केको घर पुनर्निर्माण हुनेमा विश्वस्त हुन सक्नुभएको छैन । भूकम्पले घर भत्कँदा अस्थायी टहरामा बस्नुभएका उहाँले सरकारले स्थायी आवास बनाइदिने प्रतीक्षामा आशा मर्दै गइरहेको बताउनुहुन्छ । 

टिनको चिसो टहरामै आफूहरूको हिउँद बित्ने नलगाड नगरपालिका–१ का हिरालाल पुनको चिन्ता छ । सरकारले अहिलेसम्म अस्थायी आवासका लागि दिने भनेको ५० हजार रुपियाँकै दोस्रो किस्ता नदिएको उल्लेख गर्दै स्थायी आवासको कुरा टाढाको सपना भएको उहाँ बताउनुहुन्छ । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडेलले नगरपालिकाबाट सम्झौता भएर आएका लाभग्राहीका लागि जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर रकम माग गरिएको बताउनुभयो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवासको विस्तृत क्षति आकलन गरेर आएको विवरण अनुसार पुनर्निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । सबै पालिकामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवासको विस्तृत क्षति आकलनको विवरण सात वटै पालिकाको आइसके पनि अन्य पालिकाबाट सम्झौताको प्रक्रिया अगाडि नबढेको उहाँले जनाउनुभयो । नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले नागरिकमा सरकारको प्राथमिकतामा आफूहरू नपर्ने हो कि भन्ने चिन्ता रहेको पाइएको बताउनुहुन्छ । उहाँले अधिकांश नागरिकको स्थायी आवास निर्माणको काम कहिले सुरु हुने भनेर प्रतीक्षा गरिरहेको बताउनुभयो ।