अजय शाह
गौशाला (महोत्तरी), मङ्सिर १७ गते । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाअन्तर्गत महोत्तरी–१ मा सरोज यादव पक्षधर प्यानल विजयी भएको छ । सोमबार सम्पन्न मतदानको अन्तिम नतिजाअनुसार खुला तर्फ विराट विष्टले सर्वाधिक मतसहित अग्रता प्राप्त गर्दै विजयी बन्नुभएको हो ।
विष्टसँगै अन्यतर्फ कुमार घिमिरे, काहारमान स्याङवा, शंकर महतो, गुन्जबहादुर खड्का र अरुणकुमार सिंह खुला श्रेणीका प्रतिनिधि चयन हुनुभएको छ ।
यसैगरी, महिला तर्फ बिन्दु किङरीङ, सम्झना शर्मा पौडेल र सरस्वती चौधरी प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
जिल्ला अध्यक्ष बलिराम यादवका अनुसार, “महोत्तरी–१ मा प्राप्त यस जितले प्रदेशमा सरोज यादव र केन्द्रमा केपी ओलीको नेतृत्वलाई थप मजबुत बनाएको छ ।”
प्रमुख निर्वाचन अधिकृत शिवशरण यादवका अनुसार कुल ८९६ प्रतिनिधिले मतदान गरेका थिए, जसमा १२ मत बदर भएको जनाउनुभयो ।
यसअघि नै युवा तर्फ बर्दिबासका युवा नेता तथा इन्जिनियर रवि पोखरेल सर्वसम्मत रूपमा प्रतिनिधिमा निर्वाचीत भैसकेको निर्वाचन समितिले जनाएको छ ।
स्थानीय एमाले नेताहरूको विश्लेषण अनुसार, मधेश प्रदेशभर सरोज यादव समूहले ठुलो सङ्ख्यामा प्रतिनिधि जितेकाले आगामी महाधिवेशनमा केपी ओली पक्षलाई थप सहजता हुने देखिएको छ।