• १७ मङ्सिर २०८२, बुधबार

म्याद सकियो, प्रगति आधा

blog

समय सकिँदा पनि कालोपत्रे हुन नसकेको रास्कोटको सडक । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता  

कालीकोट, मङ्सिर १७ गते  । जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको म्याद सकिए पनि काम भने ४५ प्रतिशत मात्र भएको छ । ठेक्का अवधिभरि काम नगरेकाले प्रगति ४५ प्रतिशत मात्र भएको हो । सडक कालोपत्रेको काम पनि अलपत्र जस्तै छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाभित्रको शान्तिघाट–सिपखाना सडक अन्तर्गत शान्तिघाटदेखि बडीमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न २०७८ साल असार ३ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको चार वर्ष अर्थात् २०८२ साल असारसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा सडक अलपत्र अवस्थामा छोडिएको छ । 

दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ । कामको रेखदेख गरिरहेको पूर्वाधार विकास कार्यालय कालीकोटले निर्माण कम्पनीले अग्रिम भुक्तानी (पेस्की) बापत चार करोड ४० लाख रुपियाँ लिएर काम अलपत्र छाडेको जनाएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर कृष्णप्रसाद शर्माले ठेक्का सम्झौता भएको सात महिनापछि काम सुरु गरेको र त्यसयता काम नगरेको जनाउनुभयो । निर्माण कम्पनी केएस शनिदेव जेभी महेन्द्रनगरले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते पूर्वाधार विकास कार्यालय कालीकोटसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको चार वर्षसम्म साइडमा ४५ प्रतिशत मात्र काम भएको र हाल कुनै पनि काम सुरु नगरेको कार्यालयले जनाएको छ । कुल ३८ करोड ४९ लाख ५७ हजार ७७६ रुपियाँ लागत स्टिमेटबाट निर्माण कम्पनीले घटेर भ्याटसहित २५ करोड ५५ लाख ५१२ रुपियाँमा सम्झौता गरेको थियो । 

सडक कालोपत्रेको काम अलपत्र परेपछि रास्कोटका नागरिक चिन्तित भएका छन् । रास्कोट नगरपालिका–२ का शान्ताकुमारी रोकामगरले राम्रो सडकमा सहज यात्रा गर्न पाइने खुसी विस्तारै हराउँदै गएको बताउनुभयो । सडक निर्माणका लागि डोजरले खनेर छोडेका कारण झन् सडकमा खाल्डाखुल्डी हुँदा यात्रा जोखिमपूर्ण छ । 

रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले निर्माण कम्पनीका मुख्य प्रतिनिधि देवीदत्त भट्टलाई तत्काल काम सुरु गर्न फोनबाट निर्देशन दिएको बताउनुभयो । उहाँले रास्कोटका जनताका लागि विकासमा बाधक बनेको बताउँदै साइडमा सबै निर्माणका साधन पठाएर छिटो काम सुरु गर्न सुझाव दिएको जनाउनुभयो । निर्माण कम्पनी केएस शनिदेव जेभीका मुख्य प्रतिनिधि देवीदत्त भट्टले अब आफूले तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्माण कम्पनीले जसरी पनि काम सक्ने गरी काम सुरु गर्न भौतिक पूर्वाधार मन्त्रालयमा एक हप्तापहिले सम्झौता गरेको बताउनुभयो ।