काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
कर्णालीले टस जितेर सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको हो । उसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभयो । रोसिङ्टनले नटआउट ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाउनुभयो । उहाँको शतक एनपिएलको तेस्रो हो । जारी प्रतियोगितामा यसअघि एउटा शतक प्रहार भएको थियो भने अघिल्लो सिजनमा एउटा शतक प्रहार भएको छ ।
पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षणले नटआउट २३ रन थप्नुभयो । ओपनिङमा आउनुभएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट हुनभएको थियो ।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पर्नुभयो । अहिले कर्णालीले जवाफी ब्याटिङ गर्दैछ ।