• १६ मङ्सिर २०८२, मङ्गलबार

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

blog

अङ्कारा, मङ्सिर १६ गते । रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा-२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । 

केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्याङ्करलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो । टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्याङ्कर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । 

जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ । यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले रूसी जहाज काइरोस र विराटमा भएको युक्रेनी ड्रोन आक्रमणको कडा आलोचना गर्दै यस्तो कार्यले क्षेत्रीय द्वन्द्व ‘चिन्ताजनकरूपमा तीव्र’ भएको चेतावनी दिने भनी टिप्पणी गर्नु भएको थियो । 

उहाँले भन्नुभयो, “हाम्रा विशेष समुद्री क्षेत्रमा नेभिगेसन सुरक्षा, मानवजीवन र वातावरणलाई जोखिममा पार्ने यस्ता आक्रमण हामीले कदापि स्वीकार गर्न सक्दैनौँ । हामीले सबै पक्षलाई आवश्यक चेतावनी दिइरहेका छौँ ।” काइरोस र विराट माथिका आक्रमण टर्कीको विशेष आर्थिक क्षेत्रभित्रै भएका थिए र दुवै जहाजका चालक दल सुरक्षित रहेको बताइएको छ । 

ओपनसेन्क्सन नामक प्रतिबन्ध निगरानी डाटा बेसअनुसार यी जहाज सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध चर्किदै जाँदा तीबाट बच्न प्रयोग गरिने ‘छाया फ्लीट’ को हिस्सा मानिन्छन् । युक्रेनले युद्धकालमा रूसी लक्ष्यविरुद्ध विशेषरूपमा विस्फोटक पदार्थले भरिएका समुद्री ड्रोन प्रयोग गर्दै धेरै सफल नौसैनिक आक्रमण गरिसकेको छ । यद्यपि ती प्रायः उत्तरी कृष्ण सागरकै क्षेत्रमा सीमित रहने गरेका थिए । पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकको आकलन छ । रासस/एपी