गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १६ गते । अभिभावकमा सचेतनाको अभावका कारण ग्रामीण समुदायका महिलाहरु अझै लैङ्गिक हिंसाबाट पीडित हुनेगरेको महिलाहरुले बताएका छन् ।
महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले मङ्गलबार बाँकेको डुडुवा गाउँपालिका वडा २ मा गरेको समूहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकालाई उच्च शिक्षा नदिनु दुर्भाग्यपूर्ण अवस्था रहेको अगुवाहरुले बताएका हुन् ।
उनीहरुले समाजमा व्याप्त विभिन्न कुरीतिले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बालविवाह, दाइजो प्रथा, जातीय भेदभाव, बहुविवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन् ।
मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबैभन्दा पहिला चेतना अभिवृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा महिला अगुवा लिलावती यादव, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, देवकी यादव, धु्रब बर्मालगायतले समाजमा सचेतना अभिवृद्धि भएमा लैङ्गिक हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो । संस्थाले बाँके र बर्दियाका चारवटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधि निर्माण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।