• १६ मङ्सिर २०८२, मङ्गलबार

आँखा उपचार केन्द्रलाई सहयोग

blog

आँखा उपचार केन्द्रद्वारा सम्मानित सहयोगदाता ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई विभिन्न दाताबाट सहयोग प्राप्त भएको छ । दाताहरुबाट आँखा उपचार केन्द्रलाई अक्षयकोषका लागि केही आर्थिक र टिभीसहितका जिन्सी सामग्री प्राप्त भएको हो ।

नेपाल ज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङका अनुसार हाल युके बस्दै आउनुभएका फुङ्लिङ नगरपालिका–५ का रमेश गुरुङले आँखा उपचार केन्द्रलाई ६४ इन्चको सामसुङ टिभी उपलब्ध गराउनुभएको छ । गुरुङले टिभीसँगै केही सजावटका सामग्रीसमेत कुल एक लाख ८९ हजार रुपियाँ बराबरको जिन्सी सहयोग गर्नुभएको हो ।

यस्तै हाल युकेमै बस्दै आउनुभएका फुङ्लिङ नगरपालिका–६ का सूर्यमान गुरुङले पनि ३१ हजार रुपियाँ बराबरको गौतम बुद्धको मुर्ति र आँखा उपचार केन्द्रमा अक्षयकोषका लागि २० हजार रुपियाँ नगद सहयोग गर्नु भएको छ । गुरुङको परिवारले आफ्ना स्वर्गीय बाबु (पिता) बलबहादुर गुरुङको वार्षिक पुन्यतिथिको अवसरमा ५० हजार रुपियाँ लागतमा फलैँचा (चौतारी) समेत निर्माण गरिदिएको नेत्रज्योति सङ्घले जनाएको छ ।

यता सहयोगका लागि उल्लेखनीय योगदान गर्ने सबै दातालाई नेपाल नेत्रज्योति सङ्घले सम्मान गरेको छ । सङ्घका शाखा सभापति गुरुङ, प्रदेश सदस्य सुरेश सिङ्घक लगायतले दाताहरुलाई सम्मान गर्नुभएको हो । सहयोगी दाताहरुलाई सम्मान गर्दै आँखा उपचार केन्द्रबाट प्रवाह हुँदै आएको सेवामा थप सहजता साथै सुविधा मिल्ने विश्वास केन्द्रले राखेको छ ।