• १६ मङ्सिर २०८२, मङ्गलबार

संस्थानबाट चौलागाई र रेग्मीको बिदाइ

blog

विदाई कार्यक्रममा मायाको चिनो प्रदान गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी लगायत कर्मचारीहरु । तस्बिरः कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १६ गते । गोरखापत्र संस्थानमा कार्यरत दुईजना कर्मचारी अनिवार्य अवकाशपछि आज संस्थानबाट विदाइ हुनुभएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई एक कार्यक्रमबिच विदाइ गर्नुभयो ।  

उमेर हद ५८ वर्ष पुगेकाले सेवा निबृत्त हुनुभएका कर्मचारीमा फोटोग्राफी एवम् चित्रकला शाखाका फोटो पत्रकार शेखरनाथ चौलागाई र असुल उपर शाखामा कार्यरत वरिष्ठ पेजडिजाइन सहायक सुनिल कुमार रेग्मी रहनुभएको छ । चौलागाई २०५४ असार २४ गते संस्थानमा सेवा प्रवेश गर्नुभएको थियो । 


त्यस्तै, रेग्मी २०६२ चैत ३ गते संस्थानमा सेवा प्रवेश गर्नुभएको थियो । विदाईको क्रममा महाप्रबन्धक ऐरीले दुवै जना कर्मचारी इमान्दार र लगनशील रहनुभएको र उहाँहरुले गर्नुभएको योगदानको संस्थान परिवारले सदैव स्मरण गर्ने बताउनुभयो । दुवै जना कर्मचारीले लामो समय संस्थानमा रहेर जिम्मेवारी निर्वाह गर्दा विभिन्न घटनाको साक्षी रहनुभएको भन्दै उहाँले बाँकी जीवन उज्ज्वल होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

विदाई कार्यक्रममा सञ्चालक समितिका सदस्य लक्की चौधरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, राइजिङ नेपालका नि. प्रधान सम्पादक विष्णुप्रसाद गौतम, डिजिटल संयोजक नारदमुनि गौतम, आइटि विभागका प्रमुख रेखादेवी श्रेष्ठ, प्रशासन विभाग प्रमुख ओम भुषाल, अर्थविभाग प्रमुख राजुकुमार महतलगायतले निबृत्त समय अझ उपलब्धिपूर्ण होस् भनेर शुभकामना व्यक्त गर्नुभयो ।


गोरखापत्रमा ३४ वर्ष १० महिना काम गर्दाको अनुभव सुनाउँदै फोटो पत्रकार शेखर चौलागाईले संस्थानमा रहँदासम्म पेशाप्रति जिम्मेवार भएर काम गरेको अनुभव सुनाउनुभयो । संस्थानको सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै, निबृत्त हुनुभएका वरिष्ठ पेज डिजाइन सहायक सुनिलकुमार रेग्मीले संस्थानमा लामो समय काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आउने दिनमा पनि गोरखापत्र संस्थानलाई प्रगति थप भएको हेर्न पाउँ भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो । 


सो अवसरमा संस्थानका महाप्रबन्धक ऐरी, प्रशासन विभाग प्रमुख ओम भुषाल, प्रधान सम्पादक बस्नेतले संयुक्त रुपमा मायाको चिनो प्रदान गर्नुभयो ।