• ३० फागुन २०८२, शनिबार

बेनीको तोरीपानीमा सामुदायिक ‘होमस्टे’

blog

होमस्टे उद्घाटनका क्रममा आएका पाहुनालाई स्वागत गर्दै स्थानीय । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर १६ गते। म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ। मङ्गलबार पाहुनालाई स्वागत गरेर औपचारिक सुरुवात गरिएको छ। 

तोरीपानी गाउँका साथै रावण पार्क, पछैं, ढोलठाना, जगन्नाथ, टोड्के लगायतका पर्यटकीय स्थलको भ्रमणमा आउने अन्तरिक एवम् विदेशी पर्यटकलाई लक्षित गरेर स्थानीयले सयपत्री सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन। इको हिमालय संस्थाले होमस्टेका आवश्यक पर्ने तालिम, पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग गरेको छ। 

पहिलो चरणमा तोरीपानीका पाँच घरमा पाहुना राख्नका लागि कोठा र शौचालय लगायत पूर्वाधार तयार गरिएको सामुदायिक होमस्टे समूहका सदस्य इवगिरी सन्यासीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘इको हिमालय संस्थाले बेड, विस्तारा, सरसफाइका लागि आवश्यक पर्ने सामाग्री र तालिम उपलब्ध गराएको छ।’’ 

होमस्टेमा पूर्वाधार निर्माणका लागि प्रति होमस्टे सञ्चालकलाई ७० हजार र समूहलाई दुई लाख रुपियाँ संस्थाले सहयोग गरेको उहाँले बताउनुभयो। पहिलो चरणमा पाँच वटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो।

होमस्टे उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले घरबास सञ्चालनमा ल्याएपछि तोरीपानीको भ्रमणमा आउने पर्यटकलाई सहज हुने अपेक्षा व्यक्त गर्नुभयो। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, इको हिमालय संस्था अष्ट्रियाका अध्यक्ष प्रोफेसर डाक्टर कर्टु लुगर, इको हिमालयका निर्देशक नारायण ढकाल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतले होमस्टेले स्थानीय स्तरमा आयआर्जन बढाउन सहयोग पुग्ने बताउनुभयो। 

अहिले तोरीपानीकमा जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको हो। दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको सामुदायिक होमस्टे समुहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो। 

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ। मसलेदार फल टिमुर खेतीका लागि तोरीपानी प्रसिद्ध छ। तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिक स्थल छन्। 

घरबासका माध्यमबाट पर्यटन प्रवर्धन, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वृद्धिमा  सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष चक्र केसीले बताउनुभयो।