• १६ मङ्सिर २०८२, मङ्गलबार

दाउराको जोहो गर्न दु:ख

blog

वनबाट दाउरा सङ्कलन गरेर सुनवल परासी सडक खण्डमा घरतर्फ फर्कंदै गरेका महिलाहरू । तस्बिर : विकास अधिकारी

विकास अधिकारी

पश्चिम नवलपरासी, मङ्सिर १६ गते । सुनवल स्वाठीकी कमला चौधरीलाई अहिले वर्षभरका लागि इन्धनको स्रोतको रूपमा दाउराको जोहो गर्नुपर्ने जिम्मेवारी छ । दाउरा र गुइँठाको भरमा खाना पकाउँदै आएको चौधरी परिवारलाई जाडो लागेसँगै दाउरा अपरिहार्य छ । 

४५ वर्षीय कमला बिहान झिसमिसेमै साइकल लिएर गाउँका दौतरीसँगै जङ्गल तिर लाग्नुहुन्छ । बिहान ६ बजे घरको नित्यकर्म सकेर जङ्गल हिडेकी चौधरीसहितको टोली साइकलमा एक भारी दाउरा लोड गरेर घर आइपुग्दा दिउसोको साढे दुई बज्छ । नजिकमा जङ्गल नहुँदा सुनवलको फेदीमा पुगेर दाउरा खोजेर ल्याउनुपर्छ ।

बिहान एक डेढ घण्टामा जङ्गल पुगेपनि दाउरा खोजेर फर्किदा भने समय लाग्छ । साइकलमा दाउरा हालेर डोर्‍याउँदै घर सम्म आउनुपर्छ । तीन घण्टा साइकलमा दाउरा डोर्‍याउँदै खुट्टामा ठेला उठ्छ । ‘जङ्गल जान र दाउरा खोज्न त खासै कठिन हुन्न तर, दाउरा लिएर आउन साह्रै गाह्रो छ, घण्टौँ लाग्छ, चौधरीले दुखेसो पोख्नुभयो ।’

सुकेका दाउरा ल्याउन समेत वन उपभोक्ता समुहले अवरोध गर्ने गरेको उनीहरूको गुनासो छ । पैसा लिएर को जङ्गल जान्छ, तर दाउरा लिएर आउने बेला पचास रुपियाँको पुर्जी थमाइ दिनु भयो, काचो भए त ठिकै थियो सुकेको दाउरा पनि ल्याउन नपाइने रहेछ चौधरीले भन्नुभयो ।


स्वाठीकै रन्जु कुमारी चौधरीको पनि दुःख कम छैन् । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दे आएका चौधरीको परिवारमा तीन जना ८० वर्ष कटेका वृद्धवृद्धा हुनुहुन्छ । चौधरी दम्पत्तिले दैनिक श्रम गरेर परिवार चलाउँदै आएकोमा अहिले काम पाइन छाडेपछि रन्जु कुमारी पनि बिहानै दाउरा खोज्न जङ्गल तर्फ जानुहुन्छ । ‘बुढा सासू ससुरा हुनुहुन्छ, उहाँहरूलाई आगो ताप्न पनि जाडोमा दाउरा जरुरी छ, खाना पकाउन पनि दाउरा नभए चुल्हो बल्दैन, चौधरीले भन्नुभयो ।’ ‘अन्नपातको भन्दा पनि दाउराकै समस्या भयो, चुल्हो सम्म ग्यास ल्याइदिन्छु भन्छन् चुनावमा तर चुनाव सकिएपछि कसैले वास्ता गर्दैन, उहाँले गुनासो गर्नुभयो ।’ 

दैनिक बिहानदेखि एक भारी दाउराका लागी आठ नौ घण्टा खर्च गर्नु सो क्षेत्रका धेरै स्थानीयको दैनिकी बनेको छ । समुह बनाएर बिहानै दाउरा सङ्कलन गर्न प्राय महिलाहरु जङ्गल तर्फ जाने गर्दछन् । दाउरा ल्याउन भोग्नुपरेको दुःख त भनिसाध्ये छैन, कुरकुच्चामा काडाँले घोचेका दाग देखाउँदै चौधरीले भन्नुभयो वनले कमसेकम प्रत्येक पटक एक भारी दाउराका लागी पैसा लिन बन्द गरे हुन्थ्यो । 

महलपोखरी देवी सामुदायिक वन उपभोक्ता समुह सुनवलका अध्यक्ष छन्न प्रसाद श्रेष्ठले वन संरक्षणको लागी न्यनुतम शुल्क लिँदै आएको बताउनुभयो । एक पटक दाउरा लिन जाँदा पचास रुपियाँ र घास एक भारीका लागि तीस रुपियाँ वनले प्रवेश शुल्क लिँदै आएको श्रेष्ठले जानकारी दिनुभयो ।