• १६ मङ्सिर २०८२, मङ्गलबार

एनपिएल : चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य

blog

काठमाडौँ, मङ्सिर १६  गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।

जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबिच ११२ रनको शतकीय साझेदारीसमेत भयो ।

जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक/एक विकेट लिए । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ । पराजित भएमा जनकपुर बाहिरिने छ ।

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्य लिएको छ । आजै अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुने छन् । रासस