गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
गोकणेश्वर–३, काठमाडौँमा आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत थपिएको कुलुङ भाषाको मङ्गलबार यहाँ पृष्ठ अनावरण गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
गोरखापत्रमा आजदेखि प्रकाशन सुरु भएको कुलुङ भाषाको सार्वजनिकीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो । यो अभियानमा सबैको हातेमालो चाहिन्छ ।”

नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, भेषभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको उहाँले बताउनुभयो । सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उहाँले चर्चा गर्नुभयो ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । सो निर्वाचनलाई सफल बनाउनु सबै नेपालीको कर्तव्य हो । निर्वाचन आफै लोकतन्त्रको आधार स्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोशाक) लगाएर स्वागत गर्नुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु सो समुदायको पहिचान कायम हुनु हो भन्नुभयो । समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैंमा ऐतिहासिक काम भएको उहाँले बताउनुभयो । आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उहाँले सुझाव दिनुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रभाषाको श्रीवृद्धिमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस अभियान अन्तर्गत मङ्गलबारदेखि थप भएको कुलुङ भाषा पृष्ठले भाषा संरक्षणमा थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गोरखापत्रमा ४६ भाषाको पृष्ठ प्रकाशन भइरहेको बताउँदै उहाँले यसमा सञ्चार मन्त्रालय, भाषा आयोगको उल्लेखीय योगदान भएको बताउनुभयो ।
गोकणेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिका भाषा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान दिइरहेको बताउँदै गोरखापत्रको अभियानमा सकेको साथ सहयोग गर्ने बताउनुभयो । भाषा संस्कृति यहाँको पहिचान भएकाले त्यसको प्रवर्धनमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले सरकार र गोरखापत्र संस्थानलाई धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो भाषालाई स्थान दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कुलुङ अगुवाहरूलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सञ्चार मन्त्रालयका सहसचिव तथा कर्मचारी, संस्थानका सञ्चालक समिति सदस्य लक्की चौधरी, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, संस्थानका विभागीय प्रमुखहरूको सहभागिता थियो ।