टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), मङ्सिर १६ गते । निर्वाचन आयोगले गुल्मीका तीन मतदान स्थल थप गरेको छ । आगामी निर्वाचनमा मतदाताहरूको सहजताका लागि तीन मतदान स्थल थप गर्ने निर्णय भएको हो । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले मतदान स्थलको अनुगमन गरिसकेपछि दल र सरोकारवालाको सुझावसहित सिफारिस पठाइएको थियो ।
गुल्मीदरवार गाउँपालिकाका एक, सत्यवतीमा एक र मुसिकोट नगरपालिकामा एक वटा मतदान स्थल थप गर्न तथा मुसिकोट नगपालिका–४ मा एउटा मतदान स्थल सार्ने निर्णय निर्वाचन आयोगबाट मान्यता प्राप्त भएको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो ।
अब सत्यवती गाउँपालिका–६ को वडा कार्यालय भवनमा नयाँ मतदान स्थल कायम भएको छ । गुल्मीदरवार गाउँपालिका–१, बलिथुम नरहरि कँडेल माविमा र मुसिकोट नगरपालिका–१ को वडा सेवा केन्द्र भवन सिम्ले नयाँ मतदान स्थलको रूपमा कायम भएको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । त्यस्तै मुसिकोट नगरपालिका–४, मुसिकोट मावि हलोगाडेबाट जनता आधारभूत विद्यालय आरुपाटामा ५१६ जना मतदाता सार्ने निर्णय भएको छ । गुल्मीमा १४५ निर्वाचन स्थल र २७९ मतदान केन्द्र भएका छन् ।
गुल्मीमा एक हजार एक सय ७४ महिला र एक हजार छ सय ४९ पुरुष गरेर दुई हजार आठ सय २३ नयाँ मतदाता थपिएका छन् । दुई हजार सात सय ७२ जना जिल्लाभित्रका र ७१ जना बाहिरका रहेका छन् । गुल्मीमा दुई निर्वाचन क्षेत्र रहेका छन् ।