• १६ मङ्सिर २०८२, मङ्गलबार

तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता

blog

दमौली स्थित जिल्ला निर्वाचनको कार्यालय भवन । तस्बिर : बमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १६ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै सञ्चालन गरिएको मतदाता दर्ता अभियानबाट तनहुँमा आठ हजार ३६६ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।

आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता जनाएका हुन् । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार कार्यालयमा उपस्थित भएर तीन हजार दुई सय जनाले नाम दर्ता गराएका छन् । तीमध्ये एक हजार ३८२ महिला र एक हजार ८१८ पुरुष छन् ।

यस्तै राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गर्ने पाँच हजार १६६ जनाले घरमै बसेर नामावलीमा आफ्नो नाम समावेश गराएका छन् । नागरिकता तथा परिचयपत्र प्रणाली डिजिटल हुँदै गएको हुँदा अनलाइन दर्ताको आकर्षण बढेको कार्यालयले जनाएको छ ।

दर्तासँगै नामसारी, सच्याइदिने प्रक्रिया पनि सक्रिय रूपमा सञ्चालन भएको छ । नौ सय छ जनाले स्थानान्तरण (ठाउँसारी) र दुई सय ९७ जनाले व्यक्तिगत विवरणको त्रुटि सच्याउन निवेदन दिएका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा कुल दुई लाख ४७ हजार चार मतदाता दर्ता भएका छन् । तीमध्ये एक लाख १९ हजार ८९ पुरुष तथा एक लाख २७ हजार ९१५ महिला छन् ।

आगामी निर्वाचनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले जिल्लामा दुई नयाँ मतदान केन्द्र स्थापना गर्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा थप मतदान केन्द्र स्थापना गर्न निर्वाचन आयोगलाई प्रस्ताव पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार दुवै वडामा मतदाताको पहुँच र भीड व्यवस्थापनले गर्दा अतिरिक्त मतदान केन्द्र आवश्यक देखिएको हो । हाल तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र छन् ।