शारदा समाचारदाता
शारदा (सल्यान), मङ्सिर १६ गते । सल्यानमा हृदयाघातका बिरामी बढ्दै गएका छन् । धूमपान र मदिरा सेवन, उच्च रक्तचाप तथा मधुमेह, तनाव एवं अनियमित जीवनशैली जस्ता कारण पछिल्लो वर्ष यता हृदयाघातका घटनामा वृद्धि देखिएको हो । जिल्ला अस्पताल सल्यानमा आर्थिक वर्ष २०८०/८१ मा चार जना मात्र रहेको हृदयाघातका घटना गत आर्थिक वर्ष २०८१/८२ मा १८ पुगेको छ ।
साथै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै छ जनामा हृदयाघातको समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म २८ जना हृदयाघातका बिरामी जिल्ला अस्पतालमा आएकोमा २० जना पुरुष र आठ जना महिला रहेका छन् । जिल्ला अस्पतालमा हृदयाघातको लक्षणसहित आउने बिरामीको सबैभन्दा पहिले रगत परीक्षण र मुटुको इसिजी हुने गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाका अनुसार गत वर्षदेखि मुटुको भिडियो एक्सरे सेवा पनि सुरु भएको छ । उहाँले भन्नुभयो, “यसले मुटुको कुन भागमा समस्या आएको हो भन्ने छुट्याउन मद्दत गर्छ । हृदयाघात कुन पार्ट बिग्रेर भएको हो भन्ने कुरा परीक्षणले पत्ता लगाउँछ ।”
उहाँका अनुसार मुटुमा तीन वटा मुख्य नसा हुन्छन् र तीमध्ये कुन नसामा समस्या देखिएको हो भन्ने कुरा पूर्ण रूपमा थाहा पाउन भने नसामा तार हालेर हेर्नका लागि ‘एन्जियोग्राफी’ आवश्यक हुने भएकाले नेपालगन्ज वा अन्य केन्द्रमा मात्रै सुविधा रहेको छ तर डाक्टर बुढा भन्नुहुन्छ, “यहाँबाट रिफर गर्दा यात्रा लामो हुने र कतिपयको आर्थिक अवस्था कमजोर हुने भएकाले हामीले नसा खुलाउने औषधी तत्काल दिन्छौँ । यसले ज्यान जाने जोखिम कम गर्छ ।” उच्च रक्तचाप, मधुमेह, जाँड, रक्सी, चुरोट सेवन, कोलेस्ट्रोल वृद्धि, व्यायामको कमी, तौल बढ्ने, परिवारमा यस्तै इतिहास भएको अवस्था र अत्यधिक मानसिक तनाव हृदयाघातका मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो समय कम उमेरका व्यक्तिमा पनि हृदयाघात देखिने गरेको तर सल्यानमा भने विशेष गरी ५० वर्षमाथि उमेर समूह हृदयाघातको उच्च जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख डा. बुढाले जिल्लामा हृदयाघातका लागि छुट्टै कार्यक्रम नआए पनि स्वास्थ्यकर्मीको साप्ताहिक कक्षामा यसबारे निरन्तर प्रशिक्षण दिइँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न सञ्चार माध्यममार्फत कसरी स्वस्थ रहने र हृदयाघातबाट कसरी बच्ने भन्ने सन्देश निरन्तर दिइरहेका छौँ ।”