बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर १६ गते । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–३ मा रहेको नवज्योति प्राथमिक विद्यालयमा मुस्किलले पाँच/छ जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर आठ जना विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी सङ्ख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको नेपाल राष्ट्रिय आधारभूत विद्यालय औलपराजुलमा समायोजन गरिएको छ ।
विद्यालय समायोजन गरिएसँगै शिक्षकको पनि दरबन्दी मिलान गरिएको छ । विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो अवस्थामा रहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गरिएको भेरीगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख गजेन्द्रकुमार जिसीले बताउनुभयो । विद्यार्थी सङ्ख्या निकै कम भएको र बढ्ने सम्भावना नरहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गर्ने नीति नगरपालिकाको रहेको उहाँको भनाइ छ ।
यसै गरी सुर्खेतकै चिङ्गाड गाउँपालिकाले पनि नौ वटा विद्यालयको तह घटुवा गरेको छ । विद्यार्थी सङ्ख्या कम भएका नौ वटा प्राथमिक विद्यालयको तह घटुवा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताउनुभयो । उहाँले तहगत रूपमा शिक्षक दरबन्दी नभएको र विद्यार्थी सङ्ख्या पनि न्यून भएका कारण तह घटाइएको जानकारी दिनुभयो । लालीगुराँस प्राथमिक विद्यालय चौरगाउँ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमेपिपल, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय टुनिचौर, बाल प्राथमिक विद्यालय टोट्का, सूर्योदय प्राथमिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोलाकाटे, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सल्यानगैरा र लक्ष्मी प्राथमिक विद्यालयलाई तह घटुवा गरेर कक्षा १–५ बाट १–३ मा झारिएको छ । पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाले पनि विद्यालय समायोजनका लागि आवश्यक अध्ययन गरेको जनाएको छ तर अहिले नै समायोजन गर्नुपर्ने अवस्था नरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायले बताउनुभयो । तल्लो तहमा विद्यार्थी सङ्ख्या कम रहेको भन्दै उहाँले एक÷दुई विद्यालयको तह घटाउनुपर्ने भए पनि नयाँ भर्ना दर हेरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
लेकबेँसी नगरपालिका सुर्खेतले पनि दरबन्दी मिलान तथा विद्यालय मर्जको योजना बनाएको छ । नयाँ शैक्षिक सत्रबाट कार्यान्वयन हुने गरी काम अघि बढाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताउनुभयो । पूर्वी सुर्खेतकै गुर्भाकोट नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय समायोजनको विषयमा छलफल जारी राखेको छ । अहिले विद्यालयको अनुगमन गर्ने काम भइरहेको शिक्षा शाखा प्रमुख बलवीर विकले बताउनुभयो । सिम्ता गाउँपालिका सुर्खेतले पनि आगामी शैक्षिक सत्रबाट कार्यान्वयन गर्ने गरी दरबन्दी मिलान तथा विद्यालय मर्जको योजना निर्माण गरेको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरेको छ । जुन निर्णय विवादमा समेत आएको थियो । नगर कार्यपालिका र नगर शिक्षा समितिले सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजनको निर्णय गरेको हो ।