• १६ मङ्सिर २०८२, मङ्गलबार

अपहेलित हुनु परेको सङ्क्रमितको गुनासो

blog

बेलौरी समाचारदाता

कञ्चनपुर, मङ्सिर १६ गते  । कञ्चनपुरको वेदकोट नगरपालिका–५, धर्मपुरका २७ वर्षीय महिला धना (नाम परिवर्तित) दुई वर्षपहिले एचआइभी सङक्रमण देखा परेपछि नियमित रूपमा औषधी सेवन गर्दै आउनुभएको छ । समाजमा बस्दा भने उहाँले दैनिक जसो अपहेलित हुनु परेको गुनासो गर्नुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको सोमबार एचआइभी/एड्ससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले एचआइभी सङ्क्रमण देखा परेकै कारण समाजमा दिनहुँ अपहेलित हुनु परेको गुनासो गर्नुभयो । 

न्यून आर्थिक अवस्था रहेको उहाँको घरमा पिउने पानीको समेत धारा जडान गरिएको छैन । पानी लिन पनि छिमेकीकहाँ जानुपर्ने बाध्यता रहेको बताउँदै उहाँले समाजका मानिसले सङ्क्रमित भएकै कारण नजिक जाँदासमेत हेपेर बोल्ने गरेको पीडा सुनाउनुभयो । 

दुई वर्षपहिले श्रीमान्सँगै उहाँमा एचआइभी सङ्क्रमण पुष्टि भएको थियो । उहाँका तीन वर्षीय छोरामा पनि एचआइभी सङ्क्रमण देखिएपछि हाल नियमित रूपमा तिनै जनाले औषधी सेवन गर्दै आउनुभएको छ । समाजले हेर्ने दृष्टिकोणका कारण आफू जीवन जिउनै नसक्ने अवस्थामा पुगेको पीडा उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “छिमेकीले जहिल्यै पनि हेपेर बोल्ने गरेका छन्; सकिन्छ भने छिमेकी, नजिकका आफन्तलाई सम्झाइदिनुहोला ।” समाजको अपहेलना सहन नसकेर दुई/तीन पटक आत्महत्या गर्ने प्रयाससमेत गरेका उहाँले सन्तानका लागि जिउँदै आएको पीडा सुनाउनुभयो ।

दुई दशकदेखि नियमित आरआइटी सेवन गर्दै आएका भीमदत्त नगरपालिका–१५ का ३८ वर्षीय रमा (नाम परिवर्तित) हाल एचआइभी सङ्क्रमितका पक्षमा विभिन्न समूहमार्फत काम गर्दै आउनुभएको छ । आइतबार अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले एचआइभी सङ्क्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको बताउनुभयो । हाल उनीहरूलाई केही भए पनि हौसला प्रदान गरेर नियमित रूपमा औषधी सेवन र राज्यबाट पाउने सुविधामा पनि सहजता गराउँदै आएको उहाँले बताउनुभयो । उहाँले पुरुष सङ्क्रमितभन्दा पनि महिला सङ्क्रमितलाई समाजले हेर्ने नजर फरक रहेको बताउनुभयो । 

कञ्चनपुरमा हालसम्म ६८२ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४५५ जना उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २२६ महिला, २०२ पुरुष, १५ वर्षमुनिका २० जना र सात जना यौनिक अल्पसङख्यक समूहका व्यक्तिले नियमित औषधी सेवन गरिरहेका छन् । एचआइभी सङ्क्रमित १८ वर्षमुनिका बालबालिकालाई सरकारले शिक्षा, स्वास्थ्य, पोषण र जीविकोपार्जनका लागि मासिक एक हजार रुपियाँ प्रदान गर्दै आएको छ । 

एचआइभी सङ्क्रमणका कारण जिल्लामा आव २०८१/८२ मा १४ जनाले ज्यान गुमाएका थिए । बर्सेनि कञ्चनपुरमा १४/१५ जना एचआइभी सङ्क्रमितले ज्यान गुमाउँदै आएका कार्यालयका प्रमुख नरेन्द्रसिंह रावलले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोराले यौनसम्पर्क प्राकृतिक विषय भएकाले श्रीमान् र श्रीमतीबिच हुने यौनसम्बन्धलाई असुरक्षित ठान्न नहुने बताउनुभयो । श्रीमान् र श्रीमतीबिच मात्रै यौनसम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै समन्वय प्रमुख बोहोराले पछिल्लो समय संस्कृतिमाथि समेत प्रहार गर्ने गरेर अवैध यौनसम्पर्कका विषयहरू आएकाले यसमा सबै सजग बन्नुपर्ने बताउनुभयो ।