टीकापुर समाचारदाता
टीकापुर, मङ्सिर १६ गते । किशोरकिशोरीको प्रजनन स्वास्थ्य र भविष्य सहज होस् भनेर नेपालको कानुनमा विवाहका लागि उमेर २० वर्ष तोकिए पनि बालविवाह रोकिएको छैन । बालविवाह कतिले गरिरहेका छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि स्वास्थ्यका सूचकले बालविवाह भइरहेको देखाएको छ । भजनी नगरपालिकामा २० प्रतिशत बालिकाले बच्चा जन्माएका छन् । भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा भन्नुहुन्छ, “आर्थिक वर्ष २०८१/८२ मा ३८० महिलाले सुरक्षित प्रसूति सेवा लिएकामा ७५ जना किशोरी छन् । बालविवाहित गर्भवती र बालबालिका कुपोषित भइरहेका छन् ।” सीमासँगै जोडिएको जोशीपुर गाउँपालिकामा पनि १७ प्रतिशत किशोरी सुत्केरी भएका जनस्वास्थ्य निरीक्षक नृपराज डगौरा बताउनुहुन्छ ।
टीकापुर अस्पतालको तथ्याङ्कमा पनि अघिल्लो वर्ष एक हजार ५८६ सुत्केरीमध्ये १६६ जना किशोरी छन् भने २२ जना किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो तथ्याङ्क हेर्दा १२ प्रतिशत किशोरी गर्भवती भएका देखिन्छन् । बालविवाह गरेका सबै स्वास्थ्यको रेकर्डमा नआउने भएकाले यो सङ्ख्या धेरै भएको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालको कानुनले २० वर्षमुनिकाको विवाहलाई विवाह नमान्ने र महिलालाई अनिच्छा भए १२ हप्तासम्मको गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ । किशोरकिशोरीलाई परिवार नियोजनका साधन दिइएको छ । स्वास्थ्य सेवाबाट सुरक्षित गर्भपतन सेवा पनि लिएका छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य अधिकृत कमलबहादुर रावल भन्नुहुन्छ, “कानुन र व्यवहार फरक छ । स्वास्थ्यकर्मीले डराइ डराइ सेवा दिइरहनु परेको छ ।”’
भजनी नगरपालिकाका सहायक महिला विकास निरीक्षक जौकला सार्की भन्नुहुन्छ, “बालविवाहबारे बालबालिकालाई बुझाउनै सकेनौँ कि जस्तो लाग्छ ।”
दिगो विकास लक्ष्य अनुसार पनि सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्य भए पनि अवस्था हेर्दा सुधार देखिएको छैन । बालविवाहविरुद्धका अभियन्ता दिना चौधरी सरकार र गैरसरकारी संस्थाले सघन रूपमा कार्यक्रम नगर्दा बालविवाह रोक्नु चुनौतीपूर्ण रहेको र यसका अभिभावक र शिक्षकको भूमिका पनि हुने बताउनुहुन्छ ।