गाईघाट समाचारदाता
गाईघाट (उदयपुर), मङ्सिर १६ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहना अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कभर्ड हलको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनबिच जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरू दृढताका साथ जनभावना र चाहनालाई सम्बोधन गर्ने गरी विकासनिर्माणका काममा लागिपरेको बताउनुभयो ।
थोरै बजेटले धेरै काम गर्ने बाध्यताले कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबका दिनमा सच्याउँदै अघि बढ्नेसमेत मुख्यमन्त्री कार्कीले बताउनुभयो । कोशी प्रदेश सरकारले २०७५ सालमा पहिलो पटक बजेट निर्माण गर्दा ४६ अर्ब रुपियाँको बजेट बनाएको स्मरण गर्दै उहाँले तत्कालीन समयको माग र अहिलेको जनताको माग धेरै भएका बेला प्रदेश सरकारको बजेट घटेर ३६ अर्बमा सीमित हुँदा कतिपय काम सरकारले चाहेर पनि गर्न नसक्ने उहाँको भनाइ थियो ।
उहाँले दिनप्रतिदिन जनताको आवश्यकता बढेर गएकाले बाटोघाटो निर्माणका लागि ठुलो परिमाणको बजेट माग पनि बढ्दै गएको तर देशको अर्थतन्त्र नै शिथिल भएर बजेटको आकार घट्दो व्रmममा रहेकाले समयमा जनताका माग पूरा नभएकोमा आफू गम्भीर रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले पहिलेको जस्तो भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस्, राज्यले कनिका छरे जस्तो बजेट विनियोजन गर्ने व्रmमको अन्त्य गर्दै अब कोशी प्रदेश सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुने गरी काम गर्ने परिपाटीको थालनी गरेको स्पष्ट पार्नुभयो ।
कोशी प्रदेश सरकारले २०७६/७७ सालमा पाँच लाख र चौदण्डीगढी नगरपालिकाको १० लाख रुपियाँ विनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कभर्ड हलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले ३२ लाख ८५ हजार रुपियाँ थप विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो । सोही हलमा यही मङ्सिर २० गतेबाट आयोजना हुने कोशी प्रदेशस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको समेत सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको छ ।