• १६ मङ्सिर २०८२, मङ्गलबार

एक सातादेखि क्याम्पस बन्द

blog

लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर १६ गते । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान विद्यार्थीको तालाबन्दीका कारण एक सातादेखि पूर्ण रूपमा ठप्प बनेको छ । छात्र छात्रा दुवैका लागि छात्रावास खोल्नुपर्ने माग गर्दै बिएसएजी छैठौँ र सातौँ सेमेस्टरका ६९ विद्यार्थीले मङ्सिर ७ गतेदेखि क्याम्पस कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएको आठ दिन हुँदा पनि क्याम्पस सञ्चालनमा आउन सकेको छैन । 

क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठका अनुसार क्याम्पसमा हाल करिब ४५० विद्यार्थी अध्ययनरत छन् तर छात्रावासमा अधिकतम २०० जना मात्रै अट्न सक्ने सुविधा रहेको छ । हाल १५० जना छात्रा मात्रै छात्रावासमा बस्न पाएका छन् । उहाँले भन्नुभयो, “सबै विद्यार्थीलाई एकै पटक अट्ने संरचना नभएकाले व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ । मेरिटको आधारमा विद्यार्थीलाई छात्रावासमा राख्ने गरेका छौँ ।” 

तीन वर्षअघि विभिन्न विद्यार्थी सङ्गठनबिचको विवाद र झडप बढेपछि सहमतिमा छात्रालाई मात्र छात्रावासमा राख्ने निर्णय गरिएको थियो । तर अहिले छात्रहरूलाई पनि छात्रावास उपलब्ध गराउनुपर्ने मागसहित विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

क्याम्पस प्रशासनले तालाबन्दी हटाएर पठनपाठन गर्ने विषयमा अहिलेसम्म ठोस वार्ता हुन नसकेको जनाएको छ । अनौपचारिक छलफल भए पनि निर्णायक कुरा हुन नसकेको क्याम्पस प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । लगातार एक सातादेखि पठनपाठन तथा प्रशासनिक कामकाज ठप्प हुँदा विद्यार्थीको शैक्षिक गतिविधि प्रभावित भएको क्याम्पस स्रोतले जनाएको छ ।