गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १६ गते । गोरखा नगरपालिका – १० स्थित छेपेटारमा रहेको सामुदायिक विद्यालय तारामाविका कक्षा ९ र १० का विद्यार्थीहरुले कृषि शिक्षालाई कक्षा कोठाबाट खेत सम्म पु–याउदै विद्यालय परिसरमा आलु खेती सुरु गरेका छन् । व्यवहारिक सिकाइलाई शैक्षिक यात्राको मुल आधार मान्दै अघि बढाइएको यो पहल विद्यालय शैक्षिक दृष्टिकोणमै नयाँ उचाइ बनेको छ ।
‘‘विद्यालयलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी श्रम, सीप र व्यवहारिक ज्ञानसँग जोड्न यो कार्यक्रम लागु गरिएको छ,’’ ‘विद्यालयका सह प्राधानध्यापक रमेश बिष्टले भन्नुभयो, ‘‘विद्यार्थीहरुले माटो खनजोतदेखि बिउ छर्ने, मल पानी व्यवस्थापन र रोग किरा नियन्त्रणसम्बन्धी काम आफ्नै हातले पूरा गर्दै पेशाप्रतिको सम्मान लगनशीलता र अनुभूतिमूलक सिकाइको नयाँ दृष्टि विकास भएको छ ।’’
किताबको पानामा सीमित ज्ञानले जीवनभर टिकाउ सिप दिन नसक्ने भएकाले पनि व्यवहारिक ज्ञान आर्जन गर्नका लागि विद्यालयका विद्यार्थीहरुलाई आफ्नो श्रम र सीपबाट खेतबाट उत्पादन कसरी आउने रहेछ, मेहेनत कति गर्नुपर्ने रहेछ त्यसको अनुभव गर्दा उनिहरुको सिकाइ क्षमतामा प्रभावकारी परिवर्तन ल्याउन आलु खेती गर्न लागिएको विद्यालयले जनाएको छ ।
‘‘कृषि भनेपछि समाजमा नकारात्मक प्रभाव परेको देखिन्थ्यो,’’ ‘कक्षा १० का विद्यार्थी प्रगति सिर्मल भन्नुभयो, ‘‘पहिला कृषि सामान्य विषय झै लाग्थ्यो, तर अहिले हामीले गरेको श्रम हेरचाह र मेहेनतपछि कृषिको महत्त्व कति रहेछ भन्ने बुझने मौका पायौं ।’’
छेपेटारका स्थानीय युवा भोला श्रेष्ठले विद्यालयले सुरु गरेको यस्तो सकारात्मक कदमको प्रशंसा गर्दै व्यवहारिक शिक्षाले विद्यार्थीको भविष्य निर्माणमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तारा मावि छेपेटरामा सञ्चालन भएको आलु खेती र अदुवा खेती कार्यक्रम केबल शैक्षिक अभ्यास मात्र नभइ विद्यार्थीहरुको हातबाट श्रमको मूल्य, खेती किसान प्रतिको सम्मान र वास्तविक जीवनमा आवश्याक सीप विकास गर्ने महत्त्वपूर्ण प्रयासको रुपमा लिइएको बताइएको छ ।
विद्यार्थीले खेतमा गरेको मेहेनतले उनीहरुको सिकाइ मात्र गहिरो बनाएको छैना, भविष्यको जीवन यात्रामा आवश्याक आत्मविश्वास पनि भरिदिएको विद्यालयले जनाएको छ ।
विद्यालयको आफ्नै ३ रोपनी जग्गामा लगाएका अदुवा खेती र भाडामा लिएको प्रमिला कुमालको ३ रोपनी क्षेत्रफलमा फरडे फर फिउचर कार्यक्रमअन्तर्गत तीन सय किलो बीउ आलु खेती लगाएर विद्यार्थीहरुले विद्यालयमा आलु उत्पादन र बिक्री गरी आम्दानी गर्ने विद्यार्थीहरुले बताएका छन् । गोरखाको छेपेटार आलु उत्पादनको पकेट क्षेत्र भएकाले यहाँ आलु राम्रो उत्पादन हुँदै आएको छ ।