• १६ मङ्सिर २०८२, मङ्गलबार

पनाहा खोलामा पक्की पुल निर्माण

blog

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर १६ गते ।
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ र इस्मा गाउँपालिका वडा नम्बर– २ को संगम पनाहा खोलामा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय नागरिकहरु अत्यन्तै खुसी देखिएका छन् ।

यहाँ पुल निर्माणले नागरिकहरुलाई ठुलो राहत मिलेको छ । दुई पालिकाबिच आवतजावत गर्न निकै सहज बनेको बताइएको छ । पनाहा खोला वारपार गर्नका लागि पक्की पुल नहुँदा यहाँका नागरिकहरु वर्षौदेखि खोला तरेर जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

रेसुङ्गा नगरपालिकाको वडा नम्बर– ४, इस्मा गाउँपालिकाको पालुखा र धुर्कोट गाउँपालिकाको जैसीथोकसम्मका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । निर्माण सुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो ।

पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाइको रहेको छ । महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय पाल्पाको पाँच करोड छ लाख रुपियाँ लागतमा पुल निर्माण भएको हो ।