• १६ मङ्सिर २०८२, मङ्गलबार

फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

blog

कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको सेमिफाइनल पुगेको फुङ्लिङ नगरपालिकाका खेलाडी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १६ गते ।
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रि–क्वार्टर चरणअन्तर्गत सोमबार, आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । सोमबार भएको खेलमा फक्ताङ्लुङ गाउँपालिकालाई ३–० गोलले पराजित गर्दैैै फुङ्लिङ नगरपालिका सेमिफाइनलमा  प्रवेश गरेको हो ।

यस्तै, आइतबार पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिबेणी गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको हो ।

मङ्गलबार मङ्गलबार सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबिच पहिलो चरणको अन्तिम खेल हुने कञ्चनजङ्घा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो । प्रि–क्वार्टर अर्थात पहिलो चरणको खेल सकिएपछि बुधबारदेखि सेमिफाइनल चरणको खेल सुरु हुने क्लबका अध्यक्ष थेबेले बताउनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिका भने प्रतियोगितामा सहभागी भएको छैन ।

लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावरक सङ्जुम्भो फुङ्लेङले संयक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल भने मङ्सिर २० गते हुने छ ।