• १६ मङ्सिर २०८२, मङ्गलबार

सार्वजनिक सम्पत्ति रक्षा पहिलो सर्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक सम्पत्तिको रक्षामा सबै पक्ष चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्र वा सरकार जोकोहीले सिर्जना गरेको सम्पत्तिको रक्षा पहिलो सर्त रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि जहाँ जोकोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ सबैतिर हुनु पर्छ ।”

सोमबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले करदाताको पैसा सदुपयोग हुनुपर्ने पनि बताउनुभयो । 

विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै अर्थमन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै मन्त्री खनालले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ । त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नै पर्छ,” अर्थमन्त्री खनालले भन्नुभयो ।

पछिल्लो समय सरकार ठुला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री खनालले जेनजी आन्दोलनसँग जोड्दै सडकबाट कसैलाई दोषी करार गर्न नहुने र गलत सूचना प्रवाह गरेर मिडियाले पनि भ्रम फैलाउन नहुने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीको वातावरण सुधारका लागि सरकारी तवरबाट पहल भइरहेको जानकारी दिनुभयो । निजी क्षेत्रको विश्वास अभिवृद्धिका लागि सरकारले काम गरिरहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो । 

तोकिएको समयमा निर्वाचन, सुशासन कायम र सेवा प्रवाहमा सुधार अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै उहाँले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने र लगानीको वातावरण सिर्जना गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र सबल अवस्थामा रहे पनि अहिलेको प्रमुख चुनौती तरलता व्यवस्थापन नै रहेको बताउनुभयो । मौद्रिक नीतिको कार्यान्वयन गर्न र तरलता व्यवस्थापन गर्न बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई गभर्नर पौडेलले आग्रह गर्नुभयो । 

आर्थिक गतिविधि कम हुँदा बजारमा ऋणको माग नभएको जानकारी दिँदै उहाँले स्थानीय आवश्यकता हेरेर ऋण परिचालन गर्नुपर्ने बताउनुभयो । 

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि तोडफोड र आगजनी हुने गरेकाले यसका लागि सुरक्षा र प्रवर्धन योजना बनाउन लागेको जानकारी दिनुभयो । 

निजी क्षेत्रमाथि आक्रमण हुनु राम्रो नभएकाले सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उहाँको भनाइ छ । जेनजी आन्दोलनमा गलत हिसाबले घुसपैठ हुँदा निजी क्षेत्रमा ठुलो क्षति पुगेकाले सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल उच्च नभएसम्म लगानी विस्तार हुन नसक्ने बताउनुभयो । औद्योगिक क्षेत्रको प्रवर्धन गर्न नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताउँदै उहाँले अर्थतन्त्र बलियो बनाउन सबैको ध्यान केन्द्रित गर्न आवश्यक रहेको चर्चा गर्नुभयो । ब्याजदर एकल विन्दुमा हुँदा पनि निजी क्षेत्रले लगानी गर्न नसकेकाले लगानीको वातावरण सुरक्षित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।