टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मंसिर १६ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो । गाउँपालिकाले सङ्घीय सशर्त कार्यक्रमअन्तर्गत बाँझो जमिन कृषि प्रयोजनका लागि भाडामा दिन चाहने जग्गाधनी र लिन चाहने कृषकहरुका लागि प्रस्ताव आह्वान गरेको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
भाडामा दिन चाहने इच्छुक जग्गाधनी तथा खेती गर्न चाहने कृषकहरू मार्फत २१ दिन भित्र आवेदन माग गरिएको छ । बसाइँसराइ तथा युवा शक्ति गाउँमा नभएका कारण थुप्रै उर्वर जमिन बाँझो बसेका छन् । स्थानीयहरुलाई व्यवसायिक रुपमा कृषि पेसामा उत्साहित बनाएर गाउँमै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि बढाउन थालिएको पाण्डेले बताउनुभयो ।
काम गर्न चाहाने व्यक्तिको जग्गा नहुने र जग्गा हुनेले कृषिनै नगर्ने परिपाटीको अन्त्य गर्न यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ ।
प्रस्तावमा सहभागी हुन लागि इच्छुक कृषकहरुले जग्गाधनी तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बाँझो जग्गा भाडामा दिन वा लिन चाहेको निवेदन तथा प्रतिबद्धता पत्रका साथै भाडामा लिन चाहने कृषकका लागि प्रस्तावना र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।
लामो समय बाँझो रहेको जग्गालाई व्यवस्थित रूपमा खेतीयोग्य बनाइ कृषि उत्पादकत्व वृद्धि गर्ने छत्रकोट गाउँपालिकाको मुख्य उद्देश्य रहेको पोखरेलले बताउनुभयो ।
यसैगरी, उखुको पकेट क्षेत्रको रुपमा रहेको छत्रकोट गाउँपालिकाले उखु खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदानलाई निरन्तरता दिएको छ । उखु कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा उखुको बीउ वितरण गर्ने भएको छ । पालिकाले नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त योजनामा सहभागी हुन इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरुलाई १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।
उखु खेती कार्यक्रमका लागि नागरिकता, लालपुर्जाको प्रतिलिपि, कृषि फर्म वा कृषक समूह/सहकारीको दर्ता तथा नवीकरण प्रमाणपत्र, निर्णय प्रतिलिपि र वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने बताइएको छ । यी दुवै कार्यक्रमले कृषकहरूको आम्दानीमा वृद्धि, बाँझो जमिनको सदुपयोग र कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको छ ।