• १६ मंसिर २०८२, मङ्गलबार

निर्वाचन तयारीबारे जानकारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

भेटमा भण्डारीले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको जानकारी दिनुभएको थियो । साथै उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका विषयमा पनि जानकारी गराउनुभएको थियो । अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको वातावरण बनिरहेको भन्दै थप सक्रियता आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । सरकारको सिफारिसमा मनोनीत एकसहित १९ जनाको कार्यकाल सकिन लागेको हो । जसमा नेकपा (एमाले) का आठ सदस्यको कार्यकाल एकै पटक सकिँदै छ । यस्तै नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सात, नेकपा (एकीकृत समाजवादी) का एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक सदस्यको कार्यकाल पनि फागुन २० गते सकिने छ । रिक्तमध्ये १८ सदस्य निर्वाचनबाट र एक जना मनोनीतबाट पूर्ति हुने छन् ।