काराकास, मङ्सिर १५ गते । संयुक्त राज्य अमेरिका र भेनेजुएलाबिच बढ्दो तनावको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको फोन वार्तालाई आइतबार पुष्टि गर्नु भएको छ ।
उहाँले उक्त संवादको परिणामबारे स्पष्ट केही भन्न नसक्ने बताउँदै ‘यो एउटा फोन कल मात्र थियो’ भनी टिप्पणी गर्नुभयो । तर काराकासले भने अमेरिकाले सम्भावित आक्रमणको तयारी गरिरहेको भन्दै कडा निन्दा गरेको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको, मदुरोसँग जोडिएको कथित ‘कार्टेल अफ द सन’ लाई आतङ्कवादी समूह घोषणाको चेतावनी दिएको र भेनेजुएलाको हवाई क्षेत्र बन्द हुनसक्ने सङ्केत दिएको कारण वातावरण झनै चर्किएको छ ।
वासिङ्टनले भने आफ्नो सैन्य तैनाथीको मुख्य उद्देश्य लागु औषध तस्करी रोकथाम भएको दाबी गर्दै आएको छ, तर काराकासले यसलाई शासन परिवर्तनको पूर्वतयारीका रूपमा व्याख्या गर्दै आएको छ । अमेरिकी मिडियाले हालै ट्रम्प–मदुरोबिच सम्भावित भेटबारे छलफल भएको र मदुरोले पदत्याग गरेमा सम्भावित माफीका सर्त पनि उठेको बताएका थिए । अमेरिकी सिनेटर मार्कवेन मुलिनलेसमेत मदुरोलाई देश छोडेर रुस वा अन्य स्थानमा बसाइँ सर्न सक्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिनुभएको छ ।
अमेरिकाले मदुरोलाई लागु औषध तस्करीमा संलग्न आपराधिक समूहको नेतृत्व गरेको आरोप लगाउँदै पाँच करोड डलरको पुरस्कारसमेत घोषणा गरेको छ । तर भेनेजुएला र त्यसका सहयोगी राष्ट्रले त्यस्तो सङ्गठन अस्तित्वमै नभएको स्पष्ट गर्दै आएका छन् । धेरै विशेषज्ञहरूका अनुसार ‘कार्टेल अफ द सन’ को अर्थ वास्तवमा केही उच्च पदस्थ अधिकारी माझको भ्रष्टाचार जन्य आपराधिक गतिविधिलाई जनाउने अवधारणा रहेको बताइन्छ ।
गत वर्षको राष्ट्रपति चुनावमा मदुरो विजयी भएको तथ्यलाई संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको छैन । ट्रम्पले सार्वजनिकरूपमा बल प्रयोग गर्ने उद्घोष नगरे पनि उहाँले भेनेजुएलाबाट हुने लागु औषध तस्करी ‘धेरै चाँडै’ भूमिबाटै रोक्ने सङ्केत दिनुभएको छ । यसैबिच, राष्ट्रपति मदुरोले ओपेकलाई पत्र लेखी अमेरिकी ‘आक्रमण रोक्न’ सहयोग गर्न अनुरोध गर्नु भएको छ । उहाँले वासिङ्टनले भेनेजुएलाको विश्वकै सबैभन्दा ठुलो तेल भण्डार कब्जा गर्न सैन्य बल प्रयोग गर्न खोजिरहेको दाबी गर्नु भएको छ ।
सेप्टेम्बरयता अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कथित लागु औषध तस्करीमा संलग्न डुङ्गा लक्ष्य गर्दै हवाई आक्रमण गरिरहेकामा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अमेरिकाले प्रस्तुत गरेका धेरै आरोपका लागि ठोस प्रमाण नदेखिएको बताउँदै विशेषज्ञले पनि कारबाहीको वैधतामाथि प्रश्न उठाइरहेका छन् ।
अमेरिकी मिडियाले सेप्टेम्बरमा भएको एक आक्रमणपछि बचेका व्यक्तिमाथि थप प्रहार गरिएकै कारण मृतकको सङ्ख्या बढेको खुलाएका थिए । यस सम्बन्धमा रक्षामन्त्री पिट हेग्सेथले ‘सबैलाई समाप्त गर्ने’ आदेश दिनुभएको थियो भन्ने दाबी भए पनि ट्रम्पले सो आरोप अस्वीकार गर्नु भएको छ । हेग्सेथले भने आफूले त्यस्तो आदेश नदिएको स्पष्ट गर्नु भएको छ भने भेनेजुएलाका वरिष्ठ सांसद जोर्ज रोड्रिग्जले यस्तो घटना युद्ध अपराध सरह ठहरिन सक्ने बताउनुभएको छ ।
यसबिच, अमेरिकी विशाल विमान वाहक क्यारेबियनमा तैनाथ गरिएकाले वातावरण अझ संवेदनशील बनेको छ । अमेरिकी लडाकु र बमवर्षक विमान भेनेजुएलाको तट नजिकै निरन्तर उडिरहेका छन् । यस तनावपछि केही अन्तर्राष्ट्रिय विमान कम्पनीले भेनेजुएलातर्फका उडान रद्द गरे पनि आइतबार काराकास विमानस्थल नियमितरूपमा सञ्चालन भइरहेको देखिएको छ । रासस/एएफपी