• १५ मंसिर २०८२, सोमबार

कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै औषधी व्यवसायी सङ्घ सुप अध्यक्ष गजेन्द्र लेखक । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, मङ्सिर १५ गते । कञ्चनपुरमा औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित बनेका छन् । औषधी ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित औषधी व्यवसायीहरूले जिल्लामा दैनिक दुई घण्टा व्यवसाय बन्द गरेर हातमा कालो पट्टी बाँध्दै आन्दोलित भएका हुन् । 

नेपाल औषधी व्यवसायी सङ्घ, नेपाल पशुपक्षी औषधी व्यवसायी सङ्घ र नेपाल आयुर्वेदिक औषधी व्यवसायी सङ्घमा आबद्ध व्यवसायीहरू संयुक्तरूपमा आन्दोलनमा होमिएका छन् । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे उनीहरूले दफा ११ को उपदफा ३ संशोधन, उपदफा ५ खारेज गर्नुपर्ने लगायतका मागहरू सहित आन्दोलनमा उत्रिएको बताएका छन् । 

सरकारले नयाँ संशोधन गरेको प्रावधान अनुसार दर्ता नवीकरण म्याद सकिएको भोलि पल्टदेखि १०० प्रतिशत जरिवाना र ३१ औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था छ, जसले व्यवसायीलाई पलायन हुने अवस्था सिर्जना गरिरहेको र सोही कारण आन्दोलनमा उत्रनु परेको नेपाल औषधी व्यवसायी सङ्घ सुदूरपश्चिमका अध्यक्ष गजेन्द्र लेखकले बताउनुभयो । 

औषधी ऐनको दफा ११ को उपदफा ३ र ५ व्यवसायीहरूका लागि ‘अव्यवहारिक’ भएकाले तत्काल संशोधन तथा खारेजीको माग गरिनुपर्ने व्यवसायीले माग गर्दे आएका छन् । सरकारले विसं २०८२ साउन १४ गते औषधी व्यवसायीहरूलाई धराशायी पार्ने र व्यवसायीलाई विस्थापित गर्ने ढङ्गले दफा ११ संशोधन गरिएको भन्दै उक्त दफा पूर्णतया खारेज गरिनुपर्ने उनीहरूले माग राखेका हुन् । 

मङ्सिर ११ गतेदेखि उनीहरूले औषधी पसल अगाडी कालो पट्टी बाँध्ने, दैनिक दुई घण्टा व्यवसाय बन्द गर्ने लगायत सांकेतिकरूपमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले माग पुरा नहुन्जेल थप आन्दोलनका कार्यक्रम अगाडि सारिने बताएका छन् ।