• १५ मंसिर २०८२, सोमबार

बाँसगढीमा खाद्यले सुरु गर्‍यो धान खरिद

blog

बाँसगढीमा धान खरिद गर्दै खाद्य । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मङ्सिर १५ गते । हरेक पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको बाँसगढी नगरपालिकामा धान खरिद सुरु गरेको छ । 

खाद्यले गत शनिबारदेखि बाँसगढीमा धान खरिदको सुरुवात गरेको हो । खाद्यले राजापुर, गेरुवा, बारबर्दियार गुलरियामा धान खरिद गरिसकेको छ । बढैयाताल गाउँपालिकामा मङ्गलबारदेखि धान खरिद गर्ने सूचना निकालेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले हालसम्म १९ हजार आठसय ४० क्विन्टल धान खरिद गरिएको बताउनुभयो । उहाँका अनुसार राजापुरमा १० हजार पाँच सय ६४, गेरुवाको शान्तिबजारमा चार हजार ८१ क्विन्टल, बारबर्दियाको जयनगरमा दुई हजार छस य ५७ क्विन्टल, गुलरियामा दुई हजार चार सय ४४ क्विन्टल र बाँसगढीमा ९३ क्विन्टल धान खरिद गरिएको छ ।

खरिद गरिएको धानमध्ये १८ हजार एक सय १६ क्विन्टल मोटा धान रहेको छ । एक हजार सात सय २४ क्विन्टल मध्यम धान खरिद गरिएको छ । यसअघि खाद्यले राजापुर र गेरुवामा मात्र धान खरिद गरेको भए पनि स्थानीय खरिद समितिले सबै पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने निर्णय गरेपछि सबै पालिकामा धान खरिद गर्न थालिएको हो । 

जनशक्ती अभाव भएको हुनाले समयमा एकै पटक सबै पालिकामा धान खरिद गर्न नसकिएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । गत वर्ष खाद्यले ३७ हजार क्विन्टल धान खरिद गरेको थियो ।