गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १५ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा लिखित ‘जनताको बहुदलीय जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरिएको हो । एमाले उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित पार्टीका नेताहरुले पुस्तकको लोकार्पण गर्नुभयो ।
पुस्तकका लेखक नेता गौतमले जननेता मदन भण्डारीलाई नजिकबाट बुझ्न र उहाँका विचार अध्ययन गर्न चाहने पाठकका लागि पुस्तकले आधार प्रस्तुत गरिएको बताउनुभयो । पुस्तकले जननेता भण्डारीको जीवनी, व्यक्तित्वबारेमा प्रष्ट पार्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
पार्टीमा नेता तथा कार्यकर्ताको आलोचनात्मक चेतमा बृद्धि गर्नुपर्ने धारणा नेता भण्डारीको रहेको भए पनि अझै त्यस्तो वातावरण बनाउन पार्टी सफल नभएको लेखक गौतमको भनाइ छ । दोस्रो संस्करणको रुपमा प्रकाशन गरिएको सो पुस्तकले मदन भण्डारीको जवजको आधारबारे प्रष्ट पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । पुस्तक बाहिरी आवरणसहित १५४ पृष्ठको छ ।
कार्यक्रममा उपमहासचिव गुरुङसहित लेखक स्वयम्, पार्टीका नेताहरु खिमलाल भट्टराई, यज्ञ सुनुवार, निरज आचार्य, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष तथा वर्तमान अध्यक्षसहित पदाधिकारीहरुले पुस्तकको सामुहिकरुपमा लोकार्पण गर्नुभएको थियो ।