नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर १५ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनाेट हुनुभएको छ ।
निर्धारित सङ्ख्याभन्दा महाधिवेशन प्रतिनिधका लागि आकाङ्क्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनाेट गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनबाट खुलातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट निर्वाचित हुनुभएको छ ।
यसैगरी महिलातर्फ पदमा गुरुङ, यशोदा रिमाल र लक्ष्मीदेवी अधिकारी निर्वाचित हुनुभएको छ । युवातर्फ जुनबहादुर तामाङ, दलिततर्फ हिरालाल विक र नन्दराम विक निर्वाचित हुनुभएको छ ।
सदस्यताको आधारमा जिल्लाबाट खुला र समावेशी गरी १० जना प्रतिनिधि हुनु पर्नेमा ३३ जना चुनावी मैदानमा रहनु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदारी दिनु भएका ४० जनामध्ये सात जनाले उम्मेदारी फिर्ता लिएपछि ३३ जना चुनावी मैदानमा उत्रिनुभएको थियो ।
खुला चार जनाका लागि १८ जना, महिला तीन जनाका लागि नौ जना, युवा क्षेत्रतर्फ एक जनाका लागि तीन जना र दलिततर्फ दुई जनाका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।
नेकपा (एमाले) लमजुङका अनुसार महाधिवेशन प्रतिनिधि छनाेटका लागि पार्टी सङ्गठित सदस्य पाँच हजार चार सय ७३ मतदाता रहेका थिए । तर निर्वाचनमा भने एक हजार नौ सय १६ मात्र मत खसेको थियो । महाधिवेशन प्रतिनिधि छनाेट निर्वाचन मण्डलका संयोजक तीर्थ बस्नेतकाअनुसार खुलातर्फ एक हजार ६ सय ९३ र दलित क्षेत्रतर्फ दुई सय २३ मत खसेको थियो ।