• १५ मंसिर २०८२, सोमबार

एड्स महामारी अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्री डा.गौतमको आह्वान

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । 

मन्त्री डा.गौतमले ३८ औँ विश्व एड्स दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको हो । 

सरकारले सन् २०३० सम्ममा एचआइभी महामारी अन्त्य गर्न लक्ष्य लिएको छ । साथै मन्त्री डा.गौतमले एचआइभी रोकथाम, उपचार र हेरचाहमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । 

मन्त्री डा.गौतमले यो वर्ष विशेषगरी जेनजी आन्दोलनले दिएको उर्जा र सन्देशले एचआइभी ÷एड्स प्रतिकार्यमा अत्यन्त महत्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो । 

उहाँ भन्नुहुन्छ,“हाल विश्वव्यापी वितीय सङ्कट छ, भेदभाव छ यसका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै रहेकोले सबै मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ । जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ ।” 

उहाँले एन्टीरेट्रो भाइरल औषधी नियमित सेवन गरेर सामान्य जीवन बिताइरहनुभएका एचआइभी सङ्क्रमित सबैमा स्वस्थ जीवनयापनको शुभकामना पनि व्यक्त गर्दै उहाँले भविष्यमा यस महामारीका कारण कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ ।

 नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्युदर ७६ प्रतिशतले घटेको छ ।

 मन्त्ती डा.गौतमले यी उपलब्धिलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्त गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

 एचआइभीको विश्वव्यापी मान्यता अनुसार नेपालले लिएको ९५–९५–९५ को लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक छ ।

 मन्त्री गौतम भन्नुहुन्छ, “९५ प्रतिशतले आफ्नो एचआइभीको अवस्थाबारे जानकारी पाउने, ती मध्ये ९५ प्रतिशतले एआरभी उपचार प्राप्त गर्ने र उपचारमा रहेका व्यक्‍तिमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको मात्रा न्यून गराउने रहेको छ । यस कदमले एड्स अन्त्यको दिशामा ठोस प्रगति सम्भव बनाउँछ भन्ने विश्वास छ ।” 

हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ प्रतिशत मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । 

यस वर्षको विश्व एड्स दिवसको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने तय भएको छ ।