जयकृष्ण यादव
इनरुवा, मङ्सिर १५ गते । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरिएको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्दा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो ।
सदरमुकाम इनरुवादेखि सीमावर्ती कप्तानगञ्जसम्मको करिब २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलीपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सङ्घर्ष समिति गठन भेलासहित आन्दोलन सुरु गरेको हो ।
पूर्व सङ्घीय प्रतिनिधि सभा सदस्य अशाेक चौधरीसहित स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाज र राजनीतिक दलका नेताहरुको उपस्थितिमा सडक निर्माण गर्न दबाब दिन सडक आन्दोलन थालेको कार्यक्रम संयोजक धनिकलाल खत्वेले जानकारी दिनुभयो ।
खत्वेका अनुसार २०५१ सालदेखि पाँच वटा सङ्घीय निर्वाचन, दुई वटा प्रदेश र चार वटा स्थानीय निर्वाचनमा पटक पटक आश्वासन दिंदै नेताहरु जित्ने तर काम नगर्ने प्रवृत्तिले आजित भएपछि आन्दोलन सुरु गर्नुपरेको हो । तीन वर्ष अघि ठेक्का भएर पनि काम नभएकाले जीर्ण इनरुवा–कौवाखोच सडकखण्ड निर्माण अलपत्र परेको छ । यही सवालमा इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको जनाएको छ ।
समयमा सरकारले बजेट निकासा नदिएकाले केही ठाउँमा ड्रेन मात्रै निर्माण भएको र बाँकी काम नभएको साइड हेर्ने पेटिदार आबास मियाँले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले सङ्घीय सरकारको काम भएकाले थाहा नभएको भन्दै पन्छिदै आएको छ ।
आन्दोलनका क्रममा सोमबार गरेको भेलामा सहभागी एयुव अंसारीले निर्माण कम्पनीले अहिलेसम्म यस सडक खण्डमा पर्ने केही कल्भर्ट र पुल निर्माणको काम गरेको भए पनि ५ महिनायता काम नभएको गुनासो गर्नुभयो । कम्पनीले पहिलो चरणमा कल्भर्ट र पुल निर्माणको काम थालेको भए पनि अधुरो छ ।
सदरमुकाम इनरुवादेखि देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जसम्मको लिंक रोडको काम गौरी पार्वती-देव एण्ड सायर-भूमिले संयुक्त रुपमा ५७ करोड ३१ लाख रुपियाँको लागतमा सडक खण्डको काम २०८१ साउनसम्म गरिसक्नुपर्ने भनेको थियो ।
तर सो सडक निर्माणका लागि २०७८ माघ २ गते सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समयपछि अर्थात् दुई वर्षपछि मात्रै निर्माणको काम थालेको भए पनि काम सम्पन्न गर्न सकेको छैन ।