• १५ मंसिर २०८२, सोमबार

म्याद सकिनै लाग्दा आधा मात्रै काम

blog

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको जनागल क्षेत्रमा भइरहेको सडक विस्तारको काम । तस्बिर: केदार तिमल्सिना

वनेपा समाचारदाता 

बनेपा, मङ्सिर १५ गते । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको सम्झौताको समयावधि सकिन केही दिन बाँकी रहँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । 

सरकारले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम गरेको हो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियिर विजय महतोले सडक विस्तारको जिम्मा पाएको निर्माण व्यवसायीको समयावधि सकिन लाग्दा बल्ल ५० प्रतिशत काम मात्रै सम्पन्न भएको बताउनुभयो । उहाँले सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडकखण्डमा हालसम्म ५५ प्रतिशत काम र सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडकखण्डमा ४२ प्रतिशत काम सकिएको बताउनुभयो । 

साँगादेखि धुलिखेलसम्मको कामको जिम्मेवारी पाएको लामा कन्स्ट्रक्सनसँगको सम्झौताको म्याद यही मङ्सिर २५ गते र सूर्यविनायक–साँगा खण्डको जिम्मा पाएको आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँगको सम्झौताको म्याद पुस मसान्तमा सकिन लागेको हो । “काभ्रेपलाञ्चोकतर्फको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले डेढ वर्षको समय थप गर्न माग गरेको छ । निर्माण व्यवसायीले माग गरेको समयावधिको विषयमा मूल्याङ्कनको काम भइरहेको छ । कार्यालयबाट कति समय ढिलाइ भएको छ, सो अनुसार हामी म्याद थप गर्नेछौ,ँ” प्रमुख महतोले भन्नुभयो । 

उहाँले काभ्रेपलान्चोकतर्फ अझै पनि एक तिहाइ विद्युत्को पोल स्थानान्तरण गर्न बाँकी रहेको बताउनुभयो । बनेपामा सडकको सीमा, केन्द्र भागको विषयमा विवाद समाधान गर्न बाँकी रहेको छ । ढल व्यवस्थापन, खानेपानीको पाइप स्थानान्तरणका कारणले सडक विस्तारको काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

आयोजना प्रमुख महतोले सडकका लागि आवश्यक पर्ने निर्माण सामग्री ल्याउने पनौतीको रोसी क्षेत्रको समस्या, सवारी आवागमनलगायतका कारणसमेत सडक विस्तारको काममा ढिलाइ भएको बताउनुभयो । आयोजनाका ई. विष्णुप्रसाद खनालले सडक विस्तार अन्तर्गत काभ्रेपलान्चोक खण्डको धुलिखेल बिपी चोकदेखि बाँसघारीसम्म र बनेपा पुलबजारमा गरी हालसम्म करिब दुई किलोमिटर सडक कालोपत्रे सकिएको जानकारी दिनुभयो ।

उहाँले पुल बजारदेखि जनागालसम्म एकतर्फी रूपमा राजमार्ग र सर्भिस लेनको कालोपत्रे सकिएको बताउनुभयो । बाँकी राजमार्ग र सर्भिस लेनमा समेत काम अघि बढेको छ । इन्जिनियर खनालले काभ्रेपलान्चोकतर्फ आगामी असार मसान्तभित्र कालोपत्रेको सबै काम सक्ने लक्ष्यका साथ कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले असारसम्म कालोपत्रेको काम सकेर त्यसपछि सडक पेन्टिङ, सडक पोल, बत्ती, गार्डेनिङ, एक्सेस रोड, सडक सुरक्षालगायतका काम गर्ने गरी निर्माण व्यवसायीलाई काममा लगाइएको बताउनुभयो । 

सडक विस्तार अन्तर्गत धुलिखेल बाँसघारीदेखि २८ किलोसम्म सर्भिस लेनबाट सवारी सञ्चालन गरेर राजमार्ग निर्माणका लागि पुरानो कालोपत्रे उप्काउनेलगायतका काम भइरहेको छ । घरटहराको मुआब्जा, बनेपा क्षेत्रमा देखिएको विवाद, बिजुली पोल स्थानान्तरण, निर्माण सामग्रीको ढुवानीका साथै सरकारले आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण महिनौसम्म सडक विस्तारको कामले गति लिन नसकेको हो । 

चालु आवको मङ्सिर र पुस मसान्तमा सम्झौता सकिनै लाग्दा सरकारले सडकको काम पूरा गर्न करिब चार अर्ब रुपियाँको बजेट विनियोजन गर्नुपर्नेमा चालु आवमा सडक विस्तारतर्फ ६० करोड र पुल निर्माणतर्फ १० करोड रुपियाँ मात्रै विनियोजन गरेको छ । 

अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे दुई वर्षदेखि सडक विस्तारको काम हुँदै आएको छ । 

सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुसदेखि काम गर्दै आएको छ । 

यस्तै काभ्रेपलान्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ ।