• १५ मंसिर २०८२, सोमबार

महाधिवेशन प्रतिनिधि छनोटमा एमाले

blog

प्रतिनिधि छनोटका लागि कैलालीमा भएको मतदान । तस्बिर : प्रकाशविक्रम शाह

सुदूरपश्चिम प्रदेश ब्युरो

धनगढी, मङ्सिर १५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात जिल्लाका १४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, दलित र मजदुर क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । बझाङ र डोटीमा भने प्रतिनिधि छनोटमा विवाद छ । बझाङ र डोटीबाहेकका जिल्लाबाट ११६ जना प्रतिनिधि छानिएका छन् । अधिकांश क्षेत्रका प्रतिनिधि सर्वसम्मतिले छानिए पनि कैलाली क्षेत्र नम्बर १, ४ र ५ तथा कञ्चनपुरको क्षेत्र नम्बर १ र ३ मा शनिबार निर्वाचन भएका थिए । कैलालीका २ र ३, कञ्चनपुरको २, अछामका १ र २, बाजुरा, डडेलधुरा बैतडी, दार्चुला, दलित र मजदुर क्षेत्रले प्रतिनिधि सर्वसम्मतिले छानेको थियो ।

डोटीमा सर्वसम्मतिको प्रयास जारी रहेको छ भने बझाङ दुई पक्षले दुई तरिकाले प्रतिनिधि छनोट गरिएको एमालेका प्रदेश सचिव रणबहादुर चन्दले बताउनुभयो । प्रदेश कमिटीबाट छानिने पाँच जना प्रतिनिधिको सोमबारसम्ममा टुङ्गो लाग्ने उहाँले बताउनुभयो । टीकापुर समाचारदातका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये कैलालीको क्षेत्र नं १, ४ र ५ मा निर्वाचनबाट र क्षेत्र नं २, ३ र दलित क्षेत्रका निर्विरोध रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।   

त्यस्तै कञ्चनपुरका तीन निर्वाचन क्षेत्रबाट १६ जना प्रतिनिधि छानिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रदेश सरकारका मन्त्री वीरबहादुर थापा प्रतिनिधिमा चुनिनुभएको छ । बैतडी समाचारदाताका अनुसार विवादका बिच एमाले बैतडीले ११ औँ महाधिवेशनका लागि जिल्लाबाट १५ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको शनिबार नै सूचना सार्वजनिक गरेको छ । प्रतिनिधि छनोटमा विवाद हुँदा एमालेका पुराना नेता तथा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । 

चन्दले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि एमालेका केन्द्रीय सदस्य लीलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले आफ्नो नाम हटाइएको आरोप लगाउनुभएको छ । “पार्टीभित्र चरम गुटबन्दी, चाकरी र झोले प्रथाले बेला बेलामा उकुसमुकुस हुन्थ्यो,” चन्दले भन्नुभएको छ, “पार्टीभित्रको निरङ्कुशका विरुद्ध बेला बेला लडिरहेँ तर सकिनँ ।”

२०४७ सालदेखि पार्टीमा सक्रिय नेताका रूपमा परिचित चन्द एमालेबाट स्थानीय तहको निर्वाचनमा पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष पदमा २०७४ र २०७९ सालको निर्वाचनमा लगातार दुई पटक विजयी हुनुभएको छ । त्यसअघि उहाँ क्याम्पस प्रमुख र स्थानीय विद्यालयको प्राचार्य हुनुहुन्थ्यो ।  दार्चुलाबाट जिल्ला अध्यक्ष ज्ञानेन्द्रबहादुर घर्ती (बन्दी) सहित १२ जना छानिएका छन् । डडेलधुरा जिल्लाबाट जिल्ला अध्यक्ष गजेन्द्र शाहीसहित पाँच जना प्रतिनिधि छानिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको अछामबाट १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा छानिएका छन् । प्रतिनिधि छानिनेमा केशर साउद, अनिता खड्का, डिबी साउद, मीनबहादुर कुँवर, रामबहादुर बुढा, मोती विक र विन्दु रावल छानिनुभएको छ । यस्तै गरेर क्षेत्र नम्बर २ बाट चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर, भीमबहादुर रावल, सरिता उपाध्याय, निर्मलाकुमारी धमला, टोपबहादुर शाही र अम्बर विक आह्वान प्रतिनिधि छानिनुभएको छ । यसै गरेर बाजुराबाट अध्यक्ष लालबहादुर ओलीसहितका १६ जना प्रतिनिधि निर्विरोध रूपमा छानिएका छन् । यस्तै गरेर सुदूरपश्चिममा मजदुरबाट देवबहादुर वम, जितबहादुर मल्ल, ललित चन्द, चन्द्रराम विक, कमला देवकोटा, लक्ष्मीदेवी जोशी र माधवी साहु छानिनुभएको छ ।