मुगु समाचारदाता
मुगु, मङ्सिर १५ गते । तीन वर्षअघि भीषण वर्षाका कारण मुगु जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ घरपरिवार विस्थापित भए । विस्थापित भएको ४४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन । २०७९ को असोजको तेस्रो सातामा आएको बाढीले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन सय घरमा पूर्ण तथा आंशिक क्षति भएको थियो ।
सङ्घीय सरकारको निर्णय अनुसार कर्णालीका जिल्लालगायत मुगुलाई पनि बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो तर हालसम्म राहत रकम नपाउँदा पीडित अझै पनि छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँका गान्टो ऐडीले बाढीपहिरोले घर नै भत्काएर बस्ने ठाउँ नभएपछि पालमा ओत लागेर बस्दा चिसो र हिमपातका कारणले बालबालिका बिरामी भएको र अहिले छिमेकीको घरगोठमा बस्नु परेको गुनासो गर्नुभयो । सरकारले बाढीपीडितलाई अनुदानमा घर निर्माण गरिदिने भने पनि आसैआसमा महिनौँ बितिसकेको भन्दै उहाँले घर बनाउनलाई आर्थिक स्रोत आफूसँग नभएको उल्लेख गर्नुभयो ।
यस्तै छायानाथ रारा नगरपालिका–८ का कृष्णबहादुर रावल सङ्घीय, प्रदेश र स्थानीय सरकारले यहाँका बाढीपहिरोपीडितलाई ध्यान नदिए जस्तो महसुस भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुगुको तथ्याङ्क अनुसार बाढीपहिरोले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन घर पूर्ण तथा आंशिक क्षति भएका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सङ्घीय सरकारको निर्णय अनुसार मुगु जिल्लालाई पनि सङ्कट क्षेत्र घोषणा गरे पनि हालसम्म कुनै पनि राहत नआएको जानकारी दिनुभयो ।