• १५ मंसिर २०८२, सोमबार

गीता जयन्ती : ‘सार्थक जीवनका लागि’ गीता अभियानमा युवा

blog

अर्जुनचौपारी गाउँपालिकाको पन्चकन्या माविका विद्यार्थीहरु धार्मिक ग्रन्थ गीताको साथमा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १५ गते ।
स्याङ्जाका धेरै विद्यार्थीको हातमा धार्मिक ग्रन्थ गीता पुग्ने गरेको छ । युवाहरुले गीता मार्फत विद्यार्थीदेखि वृद्ध सम्मलाई सार्थक जीवन बुझ्न सिकाउँदै आएका छन् ।

कर्तव्यको बोध गराउने आचरण र व्यवहार सिकाउने अभियानमा युवाहरुले जोड दिँदै आएका हुन् । विश्वहिन्दु युवा संघ स्याङ्जामा आवद्ध युवाहरु गीताको महत्त्व बुझाउन विद्यालयमा नै पुग्ने गरेका छन् ।

पूर्वीय संस्कार र संस्कृतिलाई जीवन्त गराउँदै विद्यालय तहबाट नै यसको महत्त्वबारे बुझाउने उनीहरुको योजना छ । संघका अध्यक्ष नवराज पौडेल भन्नुहुन्छ, “अनुशासनसँगै उत्तरदायित्व बोध गराउने हाम्रो योजना हो ।”

विश्वव्यापीकरणको प्रभावले पछिल्लो पुस्ताले संस्कार, संस्कृति र सभ्यता भुल्दै गएको उहाँको बुझाइ छ ।

गीताले सर्वश्रेष्ठ मानव जीवन र यसको भूमिकाका बारेमा सिकाउने गरेको व्यवहार परिवर्तनसम्बन्धी प्रशिक्षण गर्दै आउनुभएका विष्णु कंडेलको भनाइ छ । सबैको अस्तित्व स्वीकार गर्दै सहकार्यमा जोड दिन युवाहरुलाई गीता अभियान प्रभावकारी हुनेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, “अध्यात्म र जीवन जगतलाई स्पष्ट बनाउन पछिल्लो समयमा यसको महत्त्व झनै बढेको छ ।”

मानिसलाइ आफ्नो कर्तव्यको बोध गराउने, आचरण तथा व्यवहार सिकाउने अभियानमा युवाहरुले विगत एक वर्षदेखि जिल्लाभर अभियान चलाएका हुन् ।

अभियानले समाजमा धर्म, कर्म र ज्ञान योगमा देखिएको अभावलाई पूरा गर्न सकिने उनीहरुको भनाइ छ ।

विद्यार्थीहरुलाई विद्यालय तहबाट नै नैतिकवान, धार्मिक आस्था र ज्ञान आर्जन गर्न आवश्यक छ भनेर सन्देश दिनका लागि गीता वितरण अभियान सफल भएको अध्यक्ष पौडेलको भनाइ छ ।

एक लाख ११ हजार १११ गीता पुस्तक वितरण गर्ने लक्ष्यसहित झण्डै एक वर्षदेखि अभियान सञ्चालनमा रहेको छ । हालसम्म करिब पाँच हजार पुस्तक वितरण गरिएको पौडेलले बताउनुभयो ।

जिल्लाका ११ पालिकामध्ये अर्जुनचौपारी, भीरकोट, वालिङ, गल्याङ र पुतलीबजारमा केन्द्रित पुस्तक वितरण अभियानलाई जिल्लाव्यापी बनाउने तयारी गरिएको उहाँको भनाइ । आर्थिक जोहो गरेर संघले पुस्तक खरिद गरेको र केहि पुस्तक दाताबाट लिएर वितरण गर्दै आएको संघले जनाएको छ ।

खासगरी विद्यालयस्तरमा कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थी र समुदायलाई प्राथमिकता दिएर पुस्तक वितरण गरेको संघले जनाएको छ । संघकै पहलमा ‘एक पालिका, एक संस्कृति पुस्तकालय’ अभियान समेत सञ्चालन गरिएको छ । पुस्तक वितरणसँगै सहयोग जुटाएर भीरकोट र अर्जुनचौपारीमा पुस्तकालय स्थापना गरिएको संघले जनाएको छ ।

गीता अध्ययनसँगै युवादेखि वृद्धसम्ममा धार्मिक आस्था, स्वअनुसाशन र एकआपसमा मित्रभावको बढोत्तरी हुने अभियानमा सम्लग्न युवाहरुको बुझाइ छ ।

श्रीमद् भागवद् गीता, प्रायः गीता भनेर चिनिने । गीतामा महाभारत धार्मिक कथाका राजकुमार अर्जुन र भगवान श्रीकृष्णबीचको संवाद उल्लेख गरिएको छ । उक्त संवाद महाभारतको युद्धभूमि कुरुक्षेत्रमा हुन्छ, जहाँ युद्ध सुरु हुनुभन्दा ठीक पहिले अर्जुनलाई आफ्नो नैतिक दुविधा र युद्ध लड्ने मनस्थिति हुन्छ । भगवान कृष्णले अर्जुनलाई आध्यात्मिक ज्ञान र मार्गदर्शन दिनुहुन्छ ।

भगवान कृष्णले जीवन, कर्तव्य, धर्म र वास्तविकताको स्वरूपको विभिन्न पक्षहरू समेटिएका कुरा अर्जुनलाई बताउनुहुन्छ । संस्कृतमा लेखिएको गीता अर्थसहित नेपाली भाषामा लेखिएका पुस्तक सहजै पाउने गरिन्छ । प्रत्येक वर्षको मङ्सिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीमा गीता जयन्ती मनाउने गरिन्छ ।