• १३ मंसिर २०८२, शनिबार

जियोमाण्डु २०२७ : नेपाल जियोटेक्निकल सोसाइटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

blog

काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ को औपचारिक घोषणा कार्यक्रममा सहभागीहरू ।

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ को औपचारिक घोषणा गरेको छ । यो ऐतिहासिक सम्मेलन जियोटेक्निकल इन्जिनियरिङमा केन्द्रित रहने छ । यो सम्मेलन अन्तर्राष्ट्रिय सोइल मेकानिक्स एन्ड जियोटेक्निकल इन्जिनियरिङ सोसाइटी (आइएसएसएमजिई) अन्तर्गत ११औँ एशियन युवा जियोटेक्निकल इन्जिनियरहरू सम्मेलन (११औँ एवाइजिइसी) र दक्षिण एशियाली जियोटेक्निकल सोसाइटीहरूको एसोसिएसन (एजिएसएसए)अन्तर्गत प्रस्तावित पहिलो दक्षिण एशियाली जियोटेक्निक्स सम्मेलन (एसएसिजी)सँग संयुक्त रूपमा आयोजना गरिने छ ।

घोषणा समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इन्जिनियर केशवकुमार शर्माको उपस्थिति रहेको थियो । सम्माननीय अतिथिका रूपमा आइएसएसएमजिईका एसिया उपाध्यक्ष प्रोफेसर केह–जियान (अल्बर्ट) शौ उपस्थित हुनुहुन्थ्यो । क्षेत्रीय वरिष्ठ नेतृत्वकर्ताहरू डा. अनिल जोसेफ (एजिएसएसएका अध्यक्ष तथा भारतीय जियोटेक्निकल सोसाइटीका अध्यक्ष) र इन्जिनियर अमजाद अघा (एजिएसएसएका उपाध्यक्ष तथा पाकिस्तान जियोटेक्निकल इन्जिनियर्स सोसाइटीका अध्यक्ष) अनलाइनमार्फत जोडिनुभएको थियो, जसले एसियाली तथा दक्षिण एसियाली साझेदारीको मजबुतीलाई झल्काएको छ ।

एनजिएसका अध्यक्ष सहप्राध्यापक डा. इन्द्रप्रसाद आचार्यले जियोमाण्डु २०२७ ले एनजीएसको मिसनसँग निकट रूपमा जोडिएको बताउँदै वैज्ञानिक सहकार्य, अनुसन्धान एकीकरण तथा लचिलो पूर्वाधार विकासलाई उन्नति गर्नेमा जोड दिनुभयो ।

उहाँले एनजिएसलाई शैक्षिक, उद्योग तथा नीति क्षेत्रलाई जोड्ने राष्ट्रिय मञ्चका रूपमा उल्लेख गर्दै जियोमाण्डु शृङ्खला नेपालका ठुला प्राविधिक सम्मेलनहरू मध्ये एक भएको र यसले स्प्रिङ्गर नेचरमार्फत १२५ भन्दा बढी वैज्ञानिक पेपरहरू समावेश चार खण्डका कार्यबाहीहरू प्रकाशित गरी नेपालको वैश्विक शैक्षिक दृश्यता मजबुत बनाएको बताउनुभयो ।

एनजिएसकी महासचिव इन्जिनियर कल्पना अधिकारीले सोसाइटीको समावेशिताप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै सरकारी निकायहरू, विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, निजी क्षेत्रका पेशेवरहरू तथा युवाहरूबाट सक्रिय सहभागिताको आह्वान गर्नुभयो ।

सम्मेलनका अध्यक्ष डा. मन्दिप सुवेदीले एशियाली तथा दक्षिण एशियाली सोसाइटीहरूसँगको सहकार्यको महत्त्वलाई जोड दिँदै जियोमाण्डु २०२७ ले ११औँ एवाइजिइसी तथा प्रस्तावित पहिलो एसएसिजीसँग मिलेर हिमालय तथा उप–हिमालय क्षेत्रका जियोटेक्निकल चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने महत्त्वपूर्ण क्षेत्रीय मञ्च बन्ने बताउनुभयो ।


प्राविधिक दृष्टिकोणबाट सम्मेलनका संयोजक डा. ढुण्डीराज पाठकले यो सम्मेलनमा ४० भन्दा बढी देशहरूबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरूको अपेक्षा गरिएको, २४० भन्दा बढी प्राविधिक प्रस्तुतिहरू, मुख्य वक्तव्यहरू तथा विशेषज्ञ प्यानल छलफलहरू हुने र कार्यवाहीहरू स्प्रिङ्गर नेचरमार्फत प्रकाशित हुने जानकारी दिनुभयो ।

युवा संयोजक इन्जिनियर राजन केसीले ११औँ एवाइजिइसीले युवा नेतृत्वलाई प्राथमिकता दिँदै नाममात्र सहभागिता शुल्क, पुरस्कारहरू, मार्गदर्शन तथा नेतृत्व अवसरहरू प्रदान गरी विद्यार्थी तथा युवा पेशेवरहरूलाई इन्जिनियरिङ नवीनता तथा क्षमता निर्माणमा योगदान दिन सक्षम बनाउने बताउनुभयो ।

‘पूर्वाधार विकासका लागि पहाडी जियोटेक्निक्स’ विषयवस्तुमा आयोजना हुने जियोमाण्डु २०२७ ले पहिरो, ढलान विफलता, कटान, नदी गतिशीलता तथा भूकम्पीय जोखिमजस्ता चुनौतीहरूका समाधानमा केन्द्रित रहने छ, जसले नीति विकास तथा राष्ट्रिय वृद्धिका लागि आवश्यक लचिलो इन्जिनियरिङ अभ्यासहरूलाई समर्थन गर्ने छ ।

अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई नेपालको समृद्ध सांस्कृतिक धरोहर, विविध परिदृश्य तथा प्राकृतिक सुन्दरता अनुभव गर्न निमन्त्रणा दिइएको छ ।