टोपलाल अर्याल
रेसुंगा (गुल्मी), मंसिर १२ गते । गुल्मी दरवार गाउँपालिकाले आठ बर्षपछि आफ्नै भवन निर्माणको काम थालेको छ । स्थापनाकालदेखि स्थानीय व्यक्तिहरुको भाडाको घरमा बस्दैआएको गुल्मीदरवार गाउँपालिकाले अहिले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
गुल्मीदरवार गाउँपालिका –३ को गौडाकोटमा प्रशासकीय भवन निर्माणको शिलान्यास गाउँपालिका प्रमुख सरोजकुमार थापाले गर्नुभयो । उहाँले समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । थापाले जग्गा उपलब्ध नहुँदा भाडामा अप्ठयारो गरेर सेवा प्रबाह गर्नुपर्ने बाध्यता केहि समयमा अन्त्य हुने बताउनुभयो ।
चार करोड ३७ लाख ४४ हजार ५६७ रुपियाँको लागतमा एमएस ब्लूस्टोन शर्मा नवकमल जेभीले भवन निर्माणको सम्झौता गरेको गुल्मीदरवार गाउँपालिकाका इन्जिनीयर राजु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ असोज २८ गते निर्माण सम्झौता भएको भवन आगामी २०८४ बैशाख १५ भित्र सम्पन्न गर्नु पर्नेछ।
गाउँपालिकाबाट प्रबाह हुने सेवा तीनवटा भाडाका भवनबाट हुँदैआएका थिए । भाडाका लागि गाउँपालिकाले मासिक ५२ हजार रुपियाँ भाडा बुझाउँदै आएको छ । समयमै काम भएमा सरकारी मासिक भाडाबापत खर्च हुने ५२ हजार रुपियाँ जोगिने छ । गाउँपालिकाको भवनका लागि म्यालपोखरी माविले जग्गा दिएको छ ।
गाउँपालिका भवन, सभाहल लगायतका संरचनाको लागि पाँच रोपनीभन्दा बढी जग्गा बिद्यालयले गाउँपालिकालाई प्रदान गरेको गुल्मीदरवार गाउँपालिकाका सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो ।