• १२ मंसिर २०८२, शुक्रबार

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

blog

कैलाली,  मङ्सिर १२ गते ।  धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु. ७० हजार आम्दानी गर्दै आउनुभएको छ । लामो समयदेखि उहाँले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आउनुभएको हो । 

चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आउनुभएको हो । उद्योग सञ्चालनमा उहाँलाई परिवारका सबै सदस्यले साथ दिनुभएको छ । बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादीक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताउनुभयो । 

“श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छाँै ।  परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घरखर्च चलाउने बाटो छैन्” उहाँले भन्नुभयो, “सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ ।”

सुरुमा व्यवसाय सुुरु गर्दा आर्थिकस्थित एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचत हुन थालेको चौधरीले बताउनुभयो । 

सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । “अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ”, उहाँले भन्नुभयो, “अहिले ग्राहकको माग अनुसार सामग्री पुर्‍याउन सकिरहेका छैनौँ ।”

व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको छ । हेङ्गर रु. एक हजार ६००, फूलदानी ४५०, कुर्सी तीन हजार, बस्ने पिर्का रु. ३५० देखि रु ४००, झुला रु. दुई हजार ५०० मा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

मासिक रूपमा रु. ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताउनुुभयो । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आबद्ध भएको भनाइ छ । रासस