निशा राई
धरान, मङ्सिर १२ गते । धरान उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धरान –८ तिनकुनेस्थित कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ जाँदैगरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र.१–०२–००१ ख ८७५७ नम्बरको रोडको साइडमा रोकी राखेको ट्रकमा पछाडिबाट ठक्कर दिई दुर्घटना भएको हो ।
मोटरसाइकल चालक र मोटरसाइकलमा सवार रहेको दुवै जना घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको थियो ।
उपचारको क्रम्मा एक जनाको मृत्यु भएको अस्पतालले जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले बताउनुभयो । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने मोटरसाइकल चालक २५ वर्षीय मन्जिल लिम्बू रहेको उहाँले बताउनुभयो । मोटरसाइकलमा पछाडि सवार इटहरी –५ बस्ने ३२ वर्षीय अमित राईको उपचार जारी छ ।
घटनाको जानकारी लगत्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको थियो ।
ट्रक र ट्रक चालक तेह्रथुम फेदाप बस्ने २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक मोटरसाइकल चालक लिम्बूको शव बिपी प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।