• १२ मंसिर २०८२, शुक्रबार

हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले आफ्नै भवन बनाउँदै

blog

चितवन,मङ्सिर  १२  गते ।  मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । 

हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा आज भवनको शिलन्यास गरिएको छ  । त्यस अवसरमा स्वामी ज्ञानानन्द सरस्वतीसँगै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी, भरतपुर महानगरपालिकाका जनप्रतिनिधि एवं भूमि दाताहरूले संयुक्त रूपमा भवनको शिलन्यास गर्नुभएको हो ।

ज्ञानानन्द सरस्वतीले आदर्श गृह नेपालजस्ता संस्थाहरूले समाजलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै भवन निर्माणको महान अभियानमा सहभागी भई पुण्यको कार्य गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो ।

संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताउनुभयो । हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उहाँले बताउनुभयो । 

हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिनुभयो । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् ।

भूमिदाता तथा सहयोगीबाट सङ्कलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट सङ्कलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताउनुभयो । 

संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक सङ्कलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताउनुभयो । हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशङ्कर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।   रासस